काठमाडौं १२, जेठ :
भारतीय जनता पार्टीलाई लोकसभामा प्रचण्ड बहुमत दिँदै चुनाव सकिएलगत्तै भारतमा हिंसात्मक झडप हुन थालेको छ ।
बंगाल र त्रिपुरामा हिंसा भड्किएको हो । यसक्रममा भारतीय जनता पार्टीका दुई कार्यकर्ताको हत्या भएको छ। पछिल्ला तीन दिनमा यी दुई राज्यमा हिंसा घटना भइरहेको छ । दुवै राज्यमा झडपका क्रममा करिब १५० जना घाइते भएका छन्। बंगालको हिंसामा भाजपाले तृणमूल समर्थकलाई हिंसाको आरोप लगाएको छ। उसले यसको जवाफ दिने गरी रणनीति बनाइरहेको पनि जवाफ दिएको छ ।
त्रिपुराका मुख्यमन्त्री विप्लव कुमार देवले चुनावी नतिजा बाहिरिएसँगै हिंसा फैल्याउने कामको जिम्मा वाम दलमाथि थोपरेका छन् । पश्चिम बंगालको नादिया जिल्लामा शुक्रवार राति अज्ञात हमलाकारीले गोली हानेर भाजपा कार्यकर्ताको हत्या गरिदिएका छन् । शुक्रवार राति चकदाह इलाकेमा भएको यो घटनामा २५ वर्षीय सन्तु घोष मारिएका हुन् ।
उनी केही दिन अघि मात्रै तृणमूल छोडेर भाजपामा सामेल भएका थिए । अर्कातिर लोकसभा चुनाव नतिजापछि बैरकपुर निर्वाचन क्षेत्रमा पनि हिंसा भएको छ । हिंसाका क्रममा भएको विस्फोटमा परेर एकजनाले ज्यान गुमाएका छन्। पुलिसका अनुसार नादियामा मारिएका सन्तु राति करिब ९ बजे घर गइरेका थिए । त्यसपछि मानिसहरूले उनलाई घरबाहिर बोलाएर गोली हानेर भागेका थिए ।
त्रिपुराको फटिकछेडामा शुक्रवार विपक्षी दल सीपीएमका समर्थक सदन देबनाथले भाइसँग मिलेर भाजपा कार्यकर्ता मिथू र उनका भाइ सञ्जीवमाथि धारिलो हतियारले हाने । मिथूको ज्यान गयो ।
सञ्जीवको उपचार अगरतलास्थित सरकारी अस्पताल भइरहेको छ । भाजपा प्रदेश अध्यक्ष दिलीप घोषले तृणमूल कार्यकर्तामाथि हिंसा फैलाएको आरोप लगाए । उनले तृणमूलका कार्यकर्ताले विपक्षका नेतार उम्मेदवारमाथि लगातार हमला भइरहेको पनि जनाएका छन् ।


