नया दिल्ली ११ जेठ । भारतीय लोकसभा निर्वाचनमा निर्वाचित भएका ५३९ सांसदमध्ये २३३ जना (४३ प्रतिशत) माथि आपराधिक मुद्दा लागेको पाइएको छ । भारतीय सन्चारमाध्यमअनुसार सन् २००९ को तुलनामा आपराधिक रेकर्ड भएका सांसदको संख्यामा ४४ प्रतिशतले वृद्धि भएको हो ।
केरलाको इडुकी क्षेत्रबाट चुनाव जितेका कंग्रेस सांसद डिन कुरियाकोसेविरुद्ध २४० आपराधिक मुद्दा रहेको जनाइएको छ । उनीविरुद्ध आमहत्या, लुटलगायतका मुद्दा छन् । उम्मेदवारहरुले मनोनयन दर्ता गर्दा भरेको रेकर्डअनुसार यसपटक आपराधिक रेकर्ड भएका सांसदको संख्या विगतका २ लोकसभा निर्वाचनमा भन्दा बढी छ ।
२०१४ को लोकसभा निर्वाचनमा ५४२ सांसदमध्ये १८५ जनामाथि आपराधिक रेकर्ड थियो भने २००९ मा ५४३ जनामध्ये १६२ जनामाथि आपराधिक रेकर्ड थियो ।
यसपटक विजयी भएकामध्ये १५९ जनामाथि (२९ प्रतिशत) हत्या, बलात्कार, अपहरण, महिलामाथि दुव्यर्वहारजस्ता गम्भीर खालका मुद्दा छन् । २०१४ मा भने यस्ता गम्भीर खालका आपराधिक मुद्दा लागेका सांसदको संख्या ११२ थिए ।