खैरहनी १० माघ । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा करिब साँढे ४ करोड राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ४ करोड ४२ लाख २९ हजार ४६८ रुपैया राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेलका अनुसार सबैभन्दा बढि घर जग्गा रजिष्ट्रेसनबाट राजस्व संकलन भएको छ । पुससम्म एक करोड ७० लाख रुपैया घर जग्गा रजिष्ट्रेसनबाट राजस्व संकलन भएको उहाले बताउनु भयो ।
सो शीर्षकमा २ करोड आम्दानी गर्ने लक्ष्य छ । यो अवधिमा एकीकृत सम्पत्ती कर ९७ लाख ५६ हजार संकलन भएको छ । यो वर्ष एक करोड ४० लाख एकिकृत सम्पत्ति करबाट राजस्व संकलन गर्ने नगरपालिकाको लक्ष्य छ । व्यवसाय रजिष्ट्रेशनबाट ३८ लाख ९५ हजार, नक्सापास दस्तुरबाट २० लाख ७४ हजार,भुमीकर÷मालपोतबाट २२ लाख ५३ हजार, सिफारिस दस्तुरबाट १५ लाख ५१ हजार, घरवहाल कर १२ लाख ६० हजार, अन्य दस्तुर २६ लाख ५६ हजार रुपैया संकलन भएको प्रशासकीय अधिकृत पौडेलले बताउनु भयो ।
खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा ७ करोड १९ लाख ९५ हजार रुपैया आन्तरीक श्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएको नगरपालिकाका मेयर लालमणी चौधरीले बताउनु भयो । चालु आर्थिक वर्षको ६ महिनामै आधा भन्दा वढि राजस्व संकलन भईसकेकाले लक्ष्य पुरा हुने मेयर चौधरीले बताउनु भयो ।
