दैलेख, १० जेठ :
सुर्खेतबाट जुम्लाका लागि हिँडेको मिनी ट्रक दैलेखमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
दुंगेश्वर गाउँपालिका-१ निगालपानी भएको दुर्घटनामा ट्रक सडकबाट ३०० मिटर तल खसेको प्रहरीले बताएको छ । दुर्घटनास्थलमा ट्रक र शवहरू पूरै जलेको अवस्थामा रहेको हुनाले ट्रम नम्बर र मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इनस्पेक्टर प्रेमबहादुरले जानकारी दिए ।
यस्तै, भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनी ट्रक शुक्रबार बिहान त्रिशूली नदी किनारमा खस्दा दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो । सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ। उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । आँप बोकेर काठमाडौँ जाँदै गरेको मिनीट्रक बिहान २:२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


