काठमाडौं, १० जेठ :
भारतमा सम्पन्न लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) भारी मतका साथ विजयी भएको छ ।
योसँगै भाजपा नेता नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित भएको छ । भाजपाले मोदीलाई नै प्रधानमन्त्री बनाउने नारा लिएर चुनावमा भाग लिएको थियो । मतगणनाको शुक्रबार बिहान ६ बजे सम्मको मत परिणाम अनुसार भाजपा ३५२ स्थानमा अग्रता लिएको छ भने प्रमुख प्रतिपक्षी कङ्ग्रेस आईले ८६ स्थानमा मात्र अग्रता कायम गरेको छ ।
१०४ सिटमा क्षेत्रीय दलहरुले अग्रता लिएका छन् । १६ औँ लोकसभा चुनाव, सन् २०१४ मा भाजपाले नरेन्द्र मोदीको अगुवाईमा एक्लै २८२ सिट जितेर बहुमत प्राप्त गरेको थियो । सन् १९८४ पछि भारतमा पहिलोपटक कङ्ग्रेसले बहुमत प्राप्त गरेको थियो भने सन् २०१४ मा ४४ सिटमा खुम्चिन पुग्यो ।
चार पटकसम्म भारतको गुजरातका मुख्यमन्त्री बनिसक्नु भएका मोदीका कारण भाजपा आज यो सफलताको शिखरमा पुगेको सो दलका नेताहरूले नै स्वीकार गरेका छन् ।
चुनावमा मोदीलाई केन्द्रमा राखेर अभियान चलाएको थियो । प्रधानमन्त्री मोदीले आफ्नो पहिलो कार्यकालमा विदेशमा रहेको कालोधन र अकुत आर्जनलाई नियन्त्रण गर्न उठाउनु भएको ‘डिमोनिटाइजेसन’ को कदमको प्रशंसासँगै केही आलोचना पनि सहनुप¥यो ।
ग्रामीण क्षेत्रमा विकास निर्माण, सडक सञ्जाल विस्तार, विपन्नका लागि खाना पकाउने ग्याँसको मूल्यमा कटौती, ग्रामीण शौचालय योजना, स्वास्थ्य बिमा जस्ता कार्यक्रमले उहाँको कार्यकाललाई सफल बनाएको भाजपाको दावी छ ।


