चितवन समाचारडटकम
१० माघ । केही दिन अगाडि मात्र सकिएको चितवन महोत्सव २०७५ मा फन पार्क र कृतिम चिडियाखानाबाट मात्रै ७० लाख रुपैयाँ आम्दानी भएको छ ।
महोत्सव मुल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानका अनुसार फन पार्कबाट ५५ लाख र कृतिम चिडियाखानाबाट १५ लाख आम्दानी भएको हो । पुस २५ देखि माघ ४ सम्म नारायणी नदी किनारमा चलेको महोत्सवको समग्र आय व्यय र कुल बचतसहितको हर–हिसाब फस्र्यौट हुन बाँकी रहेको प्रधानले जानकारी दिनु भयो । केहीदिनपछि त्यसलाई सार्वजनिक गर्ने अध्यक्ष प्रधानले बताउनु भयो ।
यस पटकको महोत्सवमा विगतमा भन्दा धेरै दर्शक आएको पनि आयोजकको दावी छ । विगत तीन सस्करणको महोत्सवमा भएको टिकट बिक्रीलाई तुलनात्मक रुपले हेर्दा पनि यस वर्ष धेरै टिकट विक्री भएको पाइएको प्रधानले जानकारी दिनु भयो । ०७१ को महोत्सवमा २ लाख ९ हजार, ०७३ को महोत्सवमा १ लाख ७० हजार र यस वर्षको महोत्सवमा २ लाख ५६ हजार टिकट विक्रि भएको जनाइएको छ ।
कृषी उपज प्रदर्शनी, विभिन्न जातजातीका रहनसहन झल्कने घर, मेडईन नेपाल परिसर, साँस्कृतिक कार्यक्रम, कृतिम चिडियाघर, फनपार्क र अन्य विविध स्टलहरु सवले दर्शक धेरै तान्न सकेको आयोजकको भनाई छ । महोत्सव परिसरमा यस पटक धुलो उड्ने समस्यालाई कमी गरिएकाले पनि दर्शकलाई सहज भएको जनाइएको छ ।
उद्योग वाणिज्य संघ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा १२ औं चितवन महोत्सव भएको थियो ।