काठमाण्डौ, ९ जेठ :
विभिन्न चरणमा भएको भारतीय लोकसभा निर्वाचनको परिणाम आउन थालेको छ ।
बिहीबार बिहानदेखि सुरु गरिएको गणनाको परिणामले प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारुढ दल भारतीय जनता पार्टीलाई झन् बलियो बनाउने देखिएको छ । चुनाव अगाडि सम्म सत्ता टिकाउन अनुदार बनेको आरोप झेलेका मोदीकै पक्षमा आगामी ५ वर्षका लागि जनताले जनमत प्रकट गरेको सुरुवाती मतपरिणामले देखाएको छ ।
सुरुवाती नतिजा अनुसार ५४२ लोकसभा सिटमध्ये भाजपाले ३३४ सिटमा अग्रता बनाएको छ । अघिल्लो लोकसभा चुनावमा भाजपाले ३३६ सिट जितेर बहुमतको सरकार बनाएको थियो ।
राहुल गान्धी अध्यक्ष रहेको आई कांग्रेसले सोचे भन्दा कम्जोर परिणाम ल्याउने देखिएको छ । यसअघि भएका १० मध्ये ९ एग्जिट पोलले भाजपाले यो पटक पनि बहुमत ल्याउने देखाएको थियो ।
एग्जिट पोलमा गरिएको अनुमान अनुसार नै भाजपा बहुमत भन्दा माथि देखिएको हो ।
भारतीय लोकसभामा बहुमतका लागि २७२ सिट भए पुग्छ। तर भाजपा अहिले ३३४ सिटमा अग्रता बनाइरहेको छ। अर्कातिर प्रमुख प्रतिपक्षी कांग्रेसले १०३ सिटमा अग्रता बनाएको छ । गत वर्षभन्दा परिणाममा सुधार गर्ने संकेत देखिए पनि कांग्रेस भाजपाका अगाडि कम्जोर देखिएको छ ।


