चितवन, ५ जेठ । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै अगाडि बढाउने बताउनु भएको छ ।
मदन भण्डारीको शव भेटिएको ठाउँ भरतपुर १७ गाँजीपुरमा आज आयोजित श्रद्धाञ्जलि तथा निःशुल्क स्वस्थ्य शिविर कार्यक्रममा यस्तो बताउनु भएको हो । प्रदेश नम्बर ३ को विकासका लागि अन्य जिल्लालाई भन्दा चितवनलाई धेरै बजेट विनियोजन गर्ने उल्लेख गर्दै उहाले मदन भण्डारीको शव भेटिएको चितवन ऐतिहासिक भूमि भएको बताउनु भयो । ऐतिहासिक भूमि, धार्मिक तथा पर्यटकीय गन्तव्य बोकेको यस जिल्लालाई प्रदेश सरकारले चितवनको गौरव, प्रदेश ३ को गौरव भनेर अगाडि बढिएको ढुंगेलको भनाइ छ ।
विसं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा कार दुर्घटनामा मृत्यु भएका जननेता मदन भण्डारीको शव जेठ ५ गते गाँजीपुरमा भेटिएको थियो । त्यसै दिनको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपाका नेताहरुले दासढुंगादेखि गाँजीपुरसम्मको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष योजना ल्याउनुपर्ने बताएका छन् । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य देवी ज्ञवाली, प्रदेशसभा सदस्य द्वय विजय सुवेदी तथा कृष्णप्रसाद भुर्तेल, नेकपाका स्थानीय नेता पिताम्बर पोखरेललगायतले मन्तव्य राख्नु भएको थियो । मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुरका अध्यक्ष गौरेश तामाङको अध्यक्षतामा भएको कार्यक्रममा मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो ।
२६औँ मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जलि तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम मदन भण्डारी फाउन्डेशन चितवन, मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुर तथा चितवन मोडल हस्पिटल भरतपुरको आयोजनामा गरिएको हो । कार्यक्रममा मोडल हस्पिटलका वरिष्ठ कन्सल्टेन्ट एवम् हाडजोर्नी तथा स्पाइन रोड विशेष डाक्टर निराजन सुवेदी, फिजिसियन डाक्टर प्रमोदकुमार दासलगायत ६ जना स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।


