बासी खाना खाँदा पाल्पामा १०५ जना बिरामी, दुईजनाको आइसियुमा उपचार हुँदै

पाल्पा, ३ जेठ :

पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवतीको बोउरमा बासी खाना खाँदा १०५ जना बिरामी परेका छन् ।

छिमेकीको घरमा १३ औं दिनको पुण्‍यतिथिमा तयार गरिएको भतेरमा खाना खाँदा उनीहरू बुधबारदेखि बिरामी परेको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए । उनका अनुसार दुई दिनअघि तयार गरिएको मासुसहित विभिन्न परिकारका खाना उनीहरूले बिहीबार पनि खाएका थिए ।

बिरामीमध्ये आठजनाको अहिले लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।

उनीहरूमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र आइसियुमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

उनका अनुसार आज पनि जिल्ला अस्पतालका डाक्टर पुष्प ज्ञवालीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर सामान्य बिरामीको पनि उपचार गरिरहेको छ । यसअघि बिहीबार पनि डाक्टर गगन अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले गाउँमै बिरामीको उपचार गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट