प्रमुख प्रतिपक्ष दल कांग्रेसको राष्ट्रिय जागरण अभियान आजबाट देशभर सुरु, सभापति देउवा द्धारा राष्ट्रिय सभागृहमा उद्घाटन

काठमाण्डौ, २५ वैशाख :

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले आज ९बुधबार० देखि देशभर एकसाथ जनजागरण अभियान सुरु गरेको छ  ।

देशका सबै जिल्ला, क्षेत्र, गाउँ–नगर, वडा र टोलसम्म चल्ने अभियानको सभापति शेरबहादुर देउवाले आज राष्ट्रिय सभागृहमा उद्घाटन गर्नुभएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । आज एकैसाथ ७७ वटै जिल्लामा अभियानको उद्घाटन हुने प्रवक्ता शर्माले जानकारी दिए ।’ तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गते समापन हुने छ भने तेस्रो चरणको अभियान पुस ७ देखि पुस १६ गतेसम्म चल्नेछ ।

प्रथम चरणको अभियान ७७ जिल्लामा, दोस्रो चरणमा ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुने कांग्रेसले जनाएको छ ।

अभियान मार्फत् पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र काङ्ग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य कांग्रेसको छ ।

त्यसैगरी जागरण अभियानका क्रममा सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीको अभिलेख सङ्कलन गरिने र ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ जगाउने कार्यक्रम गरिनेछ । अभियानका लागि मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरी १२ भाषामा पार्टीको जागरण गीतको व्यवस्था गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।

शेयर गरौ

ताजा अपडेट