चितवन २४ बैशाख । रत्ननगर नगरपालिकाले दुई वर्षमा तीनसय वालश्रमिकलाई श्रमबाट मुक्त गरेको छ ।
नगरमा सञ्चालित वालसंरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत २०७३ चैतदेखि २०७५ चैत मसान्तसम्म ३०५ जना वालश्रमिकलाई श्रमबाट मुक्त गरेको हो । नगर भित्रका होटल, कारखाना तथा घरमा कार्यरत श्रमिक बालवालिकालाई श्रमबाट मुक्त गरी परिवारमा पुनर्मिलन गरिएको मेयर नारायण वनले जानकारी दिनु भयो । श्रमबाट मुक्त गरिएका अधिकाँस वालवालिकालाई शिक्षा प्रदान गरिएको छ भने केहीलाई सीप मुलक तालिम प्रदान गरिएको छ ।
वालसंरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको सेवा प्रदायक संस्था रत्ननगर उद्योग बाणिज्य संघले बालवालिकालाई शिक्षा प्रदान गर्न विद्यालयमा भर्नासंगै आवश्यक शैक्षिक सहयोग गरिरहेको छ । पारिवारको आर्थिक अबस्था कमजोर भएका कारण उनीहरुका छोराछोरी श्रम बजारमा आएका पाइएको छ । बालवालिकालाई श्रम बजारमा आउन नदिन नगरपालिकाले परिवारको आयआर्जनको लागि समेत काम गरिरहेको छ ।
परिवारको आर्थिक उपार्जनको माध्यम बनाउन हामीले सहयोग गर्दै आएका छौं मेयर वनले भने परिवारको आर्थिक अबस्थामा सुधार गरेर उनीहरुका छोराछोरीलाई विद्यालय जाने वातावरण बनाउने योजना रहेको छ । रत्ननगरलाई आगामी फागुन महिनाको अन्तिम साता बालमैत्री नगर घोषणा गर्ने योजना रहेको छ । अहिलेसम्म वडा नं ३,५,१०,१६ मात्र वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गरिएको छ ।
वडा नं १५ लाई यही बैशाख २७ गते वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । १० महिनाको अबधिमा ११ वटा वडा वालमैत्री घोषणा घोषण गर्ने पर्ने र १२४ जना श्रमिक वालवालिकालाई श्रमबाट मुक्त गर्ने पर्ने दवावमा नगरपालिका रहेको छ । रत्ननगरमा अझै १२४ जना वालश्रमिक कार्यरत छन । वडा नं १ र २ अन्तर्गत पर्ने बकुलहर र टाँडी बजारका होटलहरुमा वालश्रमिक कार्यरत रहेका छन । विशेष गरी मिठाई पसल र रेष्टुरेण्टहरुमा वालश्रमिक कार्यरत रहेको बताइएको छ ।
होटल तथा रेष्टुरेण्टमा कार्यरत वालश्रमिकलाई श्रमबाट मुक्त गरी एक मुष्ट रुपमा बाँकी सबै वडाहरुलाई वालमैत्री घोषणा गर्ने योजनामा रहेको मेयर वनले बताइ । अब एउटा एउटा वडा घोषणा गरेर परिणाम निश्किदैन उनले भने श्रममा रहेका वालवालिकालाई श्रमबाट मुक्त गरी एकमुष्ट रुपमा वडालाई वालमैत्री घोषणा गर्ने योजनामा रहेका छौं ।


