कपिलवस्तु २३ बैशाख । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले पूरा नहुने सपना देखाएर सरकारले जनतालाई ढाटेको आरोप लगाउनु भएको छ ।
पानी जहाज रेल जस्ता सपना अहिले नेपालमा सम्भव नभएको भन्दै उहाले दैनिक हुने समस्याको विषयमा सरकारको नजर नगएको बताउनु भयो । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ ले मायादेवी गाउँपालिकाको डुमरामा आयोजना गरेको कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।
महामन्त्री डा. कोइरालाले दुई तिहाइको वर्तमान सरकारले एक वर्षको अवधिमा उल्लेख्य प्रगति गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकार सरकार पूर्ण रुपमा असफल भएको बताउनुभयो ।
सम्बोधनकै अवसरमा महामन्त्री डा. कोइरालाले नेपाली कांग्रेसको वर्तमान नेतृत्वले नेतृत्वदायी भूमिका खेल्न नसकेको भन्दै आसन्न महाअधिवशेनबाट सबैको नेतृत्व गर्न सक्ने एउटा प्रभावशाली पार्टी सभापतिको चयन गर्न कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु दीपक गिरी, आफताब आलम, अतहर कमाल, दीपकुमार उपाध्याय, सुरेन्द्रराज आचार्य, सुधाकर पाण्डेय, राजेश आचार्य, वजीह अरसद, प्रकाश घिमिरेलगायतले सम्बोधन गरेका थिए ।


