काठमाण्डौ, माघ १० ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । महासमिति बैठकपछि पहिलो पटक बस्न लागेको बैठकमा पार्टीको आन्तरिक विषयसँगै राष्ट्रिय राजनीतिबारे पनि छलफल हुनेछ । केन्द्रीय समितीको बैठकमा नेविसंघको एजेन्डासहीत महासमिती बैठकले पारित गरेको पार्टीको विधान, समयसामयिक विषयमा छलफल हुने छ ।
कांग्रेसले पार्टीका दिवंगत नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई खारेज गर्न खोजेको भन्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले भने कांग्रेसका अवरोधका बीच चिकित्सा शिक्षा विधेयक पास गर्न चाहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सदनदेखि सडकसम्म संघर्ष गर्ने तयारी गरेको छ । केन्द्रीय समिती बैठकको पूर्वसन्ध्यामा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भेला भएका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले सरकारविरुद्ध कडा संघर्षमा उत्रने तयारीबारे छलफल गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज बस्ने केन्द्रीय समिती बैठकले सरकारविरुद्ध संघर्षको औपचारीक निर्णय गर्नेछ । दुई अस्पतालको बिषयलाई लिएर सदन अवरोध गरिरहेको कांग्रेसले यही बिषयमा सरकारको प्रतिक्रिया कुरीरहेको छ ।
कांग्रेस पदाधिकारीहरुले भातृसंस्था नेपाल विद्यार्थी संघको पदावधि समाप्त भईसकेको कार्यसमितीका बिषयमा पनि अझै सहमती जुटाउन सकेका छैनन् । नेविसंघको कार्यसमितीको म्याद यही माघ २ गते नै सकिएकाले कांग्रेसले आज बस्ने केन्द्रीय समितीबाट निर्णय लिन लागेको छ । तर नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्ने सम्बन्धमा पार्टीका शिर्ष नेताहरुवीच झै मतभेद कायमै छ । बुधबार बसेको पदाधिकारीको बैठक समेत निष्कर्षमा पुग्न नसकेपछि यही बिषयमा केन्द्रीय समिती बैठकमा समेत तनाब हुने संकेत देखिएको छ । नेविसङ्घको वर्तमान कार्यसमिति २०७३ साल भदौ २ गते भएको ११ औँ महाधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्वाचित भएको थियो ।
बैठकमा नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने नगर्नेबारे पनि छलफल हुनेछ । नैनसिंह महर नेतृत्वको कार्यसमितिले महाधिवेशन गर्न दिएको २ महिनाको म्याद गुज्रिएको छ । वर्तमान कार्यसमिति भंग गरेको अर्को बनाउने कि फेरि म्याद थप्ने अन्यौल कायमै छ ।