काठमाडौं, २० बैशाख । बंगलाको खाडीमा उत्पन्न ‘फानी’ आँधीको असर सगरमाथा क्षेत्रमा पनि देखिएको छ । तीव्र गतिको हुरीबतासले सगरमाथा आरोहणका लागि ६२ सय मिटरको उचाइमा राखिएका कम्तीमा २० वटा टेन्ट उडाई दिएको छ ।
६ हजार २ सय मिटरमा आरोहीका लागि दोस्रो क्याम्प रहन्छ । ‘शुक्रबार तीब्रगतिमा चलेको हावाहुरीले दोस्रो क्याम्पमा राखिएका २० टेन्ट नष्ट गरीदिएको जानकारी आएको छ,’ एक्सपीडिसन एशोसिएसनका सचिव इश्वरी पौडेलेले भने, ‘सात हजार मिटरभन्दामाथि अत्याधिक कालो बादल छाएको छ । त्यहा हावाको ८०–९० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको छ ।’
हिमालयन गाइड्सले यसपटक सगरमाथा आरोहीका लागि दोस्रो क्याम्पदेखि चुचुरोसम्म डोरी टाँगेर रुट बनाइरहेको छ । उनकै कम्पनीका ८ जना गाइडहरुले बिहीबार मात्रै ८ हजार मिटर उचाईमा पर्ने साउथकोलसम्म डोरी टाँगेर बाटो बनाइसकेको उनले जानकारी दिए । ‘मैले केटाहरुलाई माथि नजाउ खतरा छ भनेको छु । राम्रो सञ्चार सम्पर्क पनि हुन सकिरहेको छैन ।’ मानवीय क्षति भने नभएको उनले बताएका छन् ।
शुक्रबारदेखि शक्तिशाली चक्रवात ‘फानी’ को प्रभावका कारण पूर्वी नेपालमा हावाहुरी, मेघगर्जनको हुन सक्ने भन्दै जल तथा पूर्वानुमान माहाशाखाले पनि सचेत गराएको छ । यसैबीच पर्यटन विभागले पनि शुक्रबार सूचना जारी गरी पर्यटक र तिनका एजेन्सीहरुलाई सचेत गराएको छ ।
‘स्थानीय मौसमको ख्यालगरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्नु’, विभागका निर्देशक मीरा आचार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘कुनै पनि क्षति हुन नदिने प्रवन्ध गर्नु गराउनू ।’
यसपटक सगरमाथासहित ३० वटा हिमाल अरोहणकालागि १०४ आरोहण दलमा ८४१ जना गएका छन् । यीमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ३७७ जना गएका छन् । एजेन्सीहरुका अनुसार, सगरमाथा आधार शिविरमा मात्रै कम्तीमा १ हजार बढी शेर्पा, गाइड, सम्पर्क अधिकृत लगायत पुगेका छन् ।
यसैबीच नेपाली हेलिकप्टरहरुको व्यवसायिक संगठन हेलिकप्टर सोसाइटी अफ नेपालले पनि ‘फानी’ को प्रभावलाई मध्यनजर गर्दै आफ्ना सदस्य कम्पनीहरुलाई शुक्रबार डेढ बजेदेखि उडानमा सर्तकता अपनाउन भनेको छ ।


