काठमाडौं, १९ वैशाख :
भारतमा जारी लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेल सञ्चालनमा ढिलाई भएको छ । सो रुटमा रेल सञ्चालनका लागि रेल विभागले भारतीय सरकारी स्वामित्वको कोकन रेल्वे कर्पोरेशनसँग रेल खरिदको तयारी अघि बढाएको थियो ।
लोकसभा निर्वाचनको कारण देखाउँदै सो कम्पनीले सम्झौता प्रक्रियामा ढिलाई गर्दा खरिदको सम्झौता हुन नसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । यद्यपि, आगामी आईतबारसम्म सो कम्पनी सम्झौताका लागि नेपाल आउने भन्दै सम्झौतापछि प्रक्रियाले गति लिने उहाँले बताउनुभयो । सम्झौताको ३ महिनाभित्र पहिलो रेल नेपाल ल्याउने गरी प्रारम्भिक सहमति भएको मिश्रको भनाई छ ।
दोस्रो रेल भने त्यसको १ महिनापछि मात्र आउने छ । नेपाल सरकारले स्वीकृति प्रदान गरेसँगै रेल विभागले ८४ करोड ६५ लाख रुपैयाँमा ५ डब्बा सहितका २ वटा रेल खरिद गर्ने गरी भारतीय कम्पनीको प्रस्ताव अनुमोदन गरेको थियो । यसअघि विभागले बैसाखभित्रै रेल आईपुग्ने बताएपनि सम्झौता लगायतका प्रक्रियागत विषयमा ढिलाई भएपछि थप समय आवश्यक बनेको हो । बर्दिबास–जनकपुर–जयनगर–कुर्था–विजयपुर सम्मको ६९ किलोमिटरको दूरीमा रेल सञ्चालन गर्ने गरी तयारी अघि बढाएको विभागले पहिलो चरणमा जनकपुर–जयनगर खण्डको ३५ किलोमिटरमा मात्र रेल सञ्चालन गर्ने यसअघि नै बताईसकेको छ । त्यसका लागि नेपालकातर्फबाट सम्पुर्ण तयारी सकिएपनि भारतीय कम्पनीले गरेको ढिलाईको असरले समय ३ महिना पछि सरेको महानिर्देशक मिश्रले बताउनुभयो । एजेन्सी


