बालकलाई शिक्षा, बृद्धलाई भत्ता, विरामीलाई उपचार ः पूर्व अर्थमन्त्री पाण्डे

चितवन समाचार डटकम,
१८ बैशाख । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले समाजवादको लागि मजदुरहरुले अब आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ ।
मजदुरहरुको संगठनले वुधबार चितवनको भरतपुरमा आयोजना गरेको अन्तरराष्ट्रिय मजदुर दिवसको अवसरमा उहाले यस्तो बताउनु भएको हो । मजदुरहरुको आन्दोलनबाट आएको पार्टी सरकारमा रहेकाले उहाँहरुको समस्यालाई यही सरकारले पूरा गर्ने भएकाले आन्दोलनको अव जरुरी नभएको बताउनु भयो । ‘लामो संघर्षपछि आएको गणतन्त्र र मजदुरहरुको पार्टीले चलाएको सरकारले आर्थिक समृद्धि हासिल गर्दछ’ नेता पाण्डेले भन्नु भयो ‘अहिले हामी पूर्ण समाजबाद ल्याउन सक्दैनौ तर त्यस तर्फ जानको लागि बाटो निर्माण गरेर हिड्ने तयारीमा छौ ।’
सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्यमा हामीले परिवर्तन गर्न सक्दछौ त्यसको परिणाम देखिने गरी आउने बताउनु भयो । आउदो बजेटबाट अहिले पाइरहेको सामाजिक सुरक्षा बृद्धभत्ता वृद्धि हुनेछ । वृद्धभत्ता समाजवादको एउटा खुट्टा हो पाण्डेले भन्नु भयो । त्यस्तै गरी अहिले व्यवस्था गर्दै आएको स्वास्थ्य विमाको रकम बढाएर कम्तीमा पनि २ लाख बनाउनु पर्ने छ । वार्षिक ५० हजार बराबरको औषधि खर्च पाउनेलाई वढाएर दुइलाख बनाउनु पर्दछ यसले धेरै नेपालीको उपचार सम्भव हुनेछ ।


त्यस्तै गरी साधारण शिक्षाको प्रतिशत घटाएर प्राविधिक शिक्षा बृद्धि गर्ने तयारी छ यसबाट पनि धेरै जनशक्तिले रोजगार पाउने छन् । साधारण शिक्षा लिएकाहरुले रोजगारी नपाउने अवस्था छ उहाले भन्नु भयो प्राविधिक शिक्षा लिएका व्यक्ति वेरोजगार छैनन् । यी व्यवस्था हामीले अहिलेनै गर्न सक्छौ । समाजवादको यो खुड्किला हो यसैगरी हामीले जनतालाई सुविधा दिने हो उहाले भन्नु भयो । बालकलाई पढाउने, बृद्धलाई भत्ता विरामीलाई उपचार यो राज्यले गर्नेछ यस्ता कार्यक्रम यही सरकारले पूरा गर्ने छ । हाम्रै पालामा हामीले समाजवाद ल्याउने छौ हामीले त्यो अनुभव गर्न पाउने छौ उहाले भन्नु भयो । अव सरकारले पूर्व पश्चिम रेल सञ्चालन गरेर यातायातमा सहुलियतको व्यवस्था ल्याउने छौ त्यसको लागि हाम्रो ध्यान गएको छ ।
कार्यक्रममा नेकपाका नेता काशीनाथ अधिकारी, मजदुर नेता यदुमणि कडेल, नेकपाका जिल्ला अध्यक्ष यमवहादुर परियारलगायतले आफ्नो धारणा राख्नु भएको थियो ।
यस्तै गरी पूर्वी चितवनको टिकौली मैदानमा आयोजना भएको मजदुरहरुको कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश ३ का सांसद कृष्णप्रसाद खनालले राजनीतिक परिवर्तनमा मजदुरको भूमिका महत्वपूर्ण भएको बताउनु भयो । मजदुरहरुको मागलाई राज्यले पूरा गर्न कुनै कसर राख्न नहुनेमा जोड दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट