काठमाडौं, १८ वैशाख :
पद तथा गोपनियताको सपथ ग्रहणसँगै नारुहितो जापानका नयाँ सम्राट बन्नुभएको छ ।
८५ वर्षीय बुबा आकिहितोले स्वास्थ्य तथा उमेरका कारण हिजो औपचारिक रुपमा पद छाडेपछि ५९ वर्षीय नारुहितो नयाँ सम्राटमा नियूक्त हुनुभएको हो । सपथ ग्रहण कार्यक्रमपछि नारुहितो, क्रिसान्थेमम गद्दीको नयाँ सम्राट बन्नुभएको बीबीसीले उल्लेख गरेको छ । सपथ कार्यक्रममा नयाँ सम्राटले पुस्तान्तरण हुँदै आएका ३ वटा वस्तु ऐना, तरबार र बहुमूल्य मणि प्राप्त गर्नुभयो ।
जुन जापानी शासकका शक्तिका प्रतिक मानिदै आएका छन् । यो सँगै जापानमा नयाँ शासनसत्ता रेईवाको उदय भएको छ । जसले शान्ति र सुव्यवस्थाको संकेत गर्दछ । र यो नारुहितोको शासन रहँदासम्म चल्नेछ । नारुहितोले आजै सम्राटका रुपमा पहिलो पटक सर्वसाधारणलाई सम्बोधन गर्नुहुनेछ । पद त्याग्ने आकिहितो २ शताब्दीयताकै यो पहिलो सम्राट बन्नुभएको छ ।
सर्वसाधारणलाई अन्तिम सम्बोधन गर्दै पूर्व सम्राट नारुहितोले अबका दिनमा पनि आफूले जापानी जनता र विश्वमा सुख समृद्धि र खुशीको प्रार्थना गर्ने बताउनुभएको छ । जापानी राजनीतिक वृतमा कुनै शक्ति नरहेपनि राष्ट्रिय विभूतिका रुपमा जापानमा सम्राटको महत्व कायमै छ । (एजेन्सी)


