बेइजिङ १६ बैशाख । चीन भ्रमणमा रहनु भएको नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण उपलब्धीपूर्ण बनेको छ ।
उहालाई चीनले गरेको सम्मान र दुइ देश बिच भएको सम्झौतामा भएको हस्ताक्षरले उपलब्धीपूर्ण भएको हो । पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको छ । त्यसमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री ली सियाओपेङले हस्ताक्षर गर्नु भएको थियो ।
चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी तथा उनका चिनियाँ समकक्षी सी चिनफिङबीच ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि दुवैजनाको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको थियो ।
चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाका मर्मत तथा सबलीकरणका लागि अनुदान र सहयोगपत्र हस्तान्तरणमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री ज्ञवाली तथा चिनियाँ वाणिज्यमन्त्री झोङ शानले हस्ताक्षर गर्नु भयो ।
आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरणका विषयमा अर्थ मन्त्रालयका सचिव लालशङ्कर घिमिरे र चाइना इन्टरनेशनल डेभलपमेण्ट कोअपरेशन एजेन्सीका वाङ सिआवतावले हस्ताक्षर गर्नु भयो ।
भन्सारका विषयमा आपसी प्रशासनिक सहयोगमा सचिव घिमिरे तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हस्ताक्षर गर्नु भयो । नेपाल गुणस्तर विभाग तथा स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्याण्डर्डाइजेशन एडमिनिष्ट्रेशन अफ चाइनाबीच सहयोगका सहमतिपत्रमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपालका लागि चिनियाँ राजदूत होउले हस्ताक्षर गर्नु भयो ।
सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने सम्झौतामा राजदूत पौड्याल र चीनको एडमिनिष्ट्रेशन अफ नेशनल कल्चरल हेरिटेजका लियु युझुले हस्ताक्षर गर्नु भयो । उक्त अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सघीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।
सम्झौताअघि राष्ट्रपति भण्डारीलाई ग्रेट हल अफ पिपुलमा भव्य स्वागत गरिएको थियो । ग्रेट हल अफ द पिपुलमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नु भएको थियो ।


