चितवन समाचार डटकम,
१६ बैशाख । चितवनको धार्मिक क्षेत्र देवघाटन धाममा पर्यटकको लागि गोल घर निर्माण हुने भएको छ ।
देवघाट क्षेत्र विकास समितिको अगुवाइमा झोलुङगे पुल नजिकै चितवन तर्फ पर्यटकको लागि गोल घर निर्माण हुन थालेको हो । गोलघर निर्माणको लागि सोमबार काम थालनी भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिनु भयो ।
धार्मिक पर्यटक आएर केही समय बस्नको लागि देवघाटमा घरको अभाव थियो । ३ नं. प्रदेश सरकारको ४० लाखको लागानीमा अहिले एक तले घर निर्माण गरिने कार्यकारी निर्देशक घिमिरेले बताउनु भयो । तीन तले निर्माण हुने घरको बाँकी निर्माण कार्य पछि गरिने छ । चितवन, नवलपरासी, तनहु तीन जिल्लाको संगम देवघाटमा धार्मिक पर्यटक भित्राउनको लागि यस्ता कामले धेरै प्रभाव पार्ने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनु भयो ।
हिन्दुहरुको आश्था र भरोसाको केन्द्रका रुपमा रहेको देवघाट क्षेत्रलाई व्यवस्थित पारी यहाँ आउने पर्यटकलाई सहज बनाउन विकास समितिले काम गरेको पौडलले बताउनु भयो । धामको सरसफाइ, सुरक्षा, धार्मिक पर्यटको लागि अवलोकन, स्नान गर्नको लागि सहज बनाउन योजना रुपमा काम गरेको पौडेलको भनाइ छ ।
क्षेत्र विकास समितिले यस अगाडि सुरक्षाको लागि वृद्धाश्रममा सिसि क्यामरा, सरसफाइको लागि अन्य सामग्रीको जडान गरिसकेको छ । धाममा आउने पर्यटकको लागि रात्रीकालिन सुरक्षाको व्यवस्था मिलाइएको कार्यकारी निर्देशक घिमिरेले जानकारी दिनु भयो । देवघाटबाट नवलपरासीको मौलाकालिका मन्दिर जानको लागि झोलुङगे पुलको काम पनि अगाडि वढाइएको छ ।


