युक्रेनी नागरीकलाई नागरिकता दिने रुसको तयारी, नागरिकता बनाउन चाहनेका लागि सहज वातावरण बनाईने

काठमाडौं, १५ वैशाख  :

रुसी राष्ट्रपति भ्लादीमीर पुटीनले रुसको नागरिकता बनाउन चाहने युक्रेनी नागरीकका लागि सहज वातावरण बनाईने बताउनुभएको छ ।

युक्रेन समर्थित पृथकतावादीहरुलाई ३ महिनाभित्र रुसको नागरिकता प्रदान गरिने सम्बन्धमा महत्वपूर्ण कानूनी सम्झौता गरेका राष्ट्रपति पुटीनले अहिले सम्पूर्ण युक्रेनीका लागि यस्तो योजना ल्याएको र यसको सीमा बढाउन चाहेको बताउनुभएको हो ।

आफ्नो नागरिकता लिन चाहने सबै युक्रेनीलाई स्वागत गरिने राष्ट्रपति पुटीनको भनाई छ । आफ्नो भू–भागलाई टुक्रा पार्न लागेको भन्दै रुसी राष्ट्रपति पुटीनको यस कदमको युक्रेनी राजनीतिज्ञहरुले आलोचना गरेको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि क्रिमियालाई आफ्नो मुलुकमा गाभेको रुसले युक्रेनलाई समेत कुदृष्टि लगाउँदै विभिन्न बहानामा नागरिक भाड्ने काम गरेको भन्दै युक्रेनले विरोध गर्दै आएको छ । यसअघि क्रिमियालाई आफ्नो मुलुकमा गाभेर रुसले त्यहाँका नागरीकहरुलाई रुसी नागरीक सरह नागरिकता प्रदान गरेको थियो । सरकारी कामकाजमा युक्रेनी भाषा बोल्नैपर्ने बाध्यकारी कानून गतसाता युक्रेनले पारित गरेपछि दुई देशबीच तनाव सिर्जना भएको हो । युक्रेनका पूर्वी क्षेत्रमा बसोबास गर्नेहरुको मातृभाषा रुसी भएकाले यस कानूनले उनीहरुलाई भेदभाव गरेको रुसको भनाई छ ।

शेयर गरौ

ताजा अपडेट