भरतपुर ५ नं. वडामा तीन करोडको विकास कार्यक्रम चल्दै, सडकको मापदण्डदेखि निःशुल्क स्वास्थ्य विमासम्म

चितवन समाचारडटकम ९ माघ । भरतपुर महानगरपालिकाको वडा नं. ५ को कार्यालयले यस आर्थिक वर्षमा तीन करोड भन्दा धेरै रुपैयाँको विकासका योजनाहरुको कामलाई अगाडि बढाएको छ ।
भौतिक संरचनादेखि विकासका अन्य विषयहरुलाई कार्यालयले उपभोक्ता समिति गठन गरी कामलाई तिब्रता दिएको हो । आर्थिक वर्षको ६ महिनामा हामीले तीन करोड रुपैयाँको विकासका योजनाहरु उपभोक्ता समिति गठन गरिसकेका छौ ५ नं. वडा कार्यालयका अध्यक्ष पदमपाणि सुवेदीले भन्नु भयो । अब प्रदेश संसदहरुको विकासका बजेट आएका छन् त्यसको पनि उपभोक्ता समिति गठन गरेर काम तिब्र गतीमा लैजाने तयारी छ उहाले भन्नु भयो ।
जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको कार्यालयले जनाएको छ । कार्यालयको विकासका योजनाहरुमा सडकको पुननिर्माण, कल्वर्ड निर्माण, पार्क सहितको पोखरी निर्माण, बाटोको मापदण्ड तोक्नेलगायतको काम अगाडि बढेको अध्यक्ष सुवेदीले बताउनु भयो ।
कार्यालयका अनुसार कल्वर्ट निर्माणको लागि १५ लाख बजेट छुट्टाइएको छ भने त्यसको काम धमाधम चलेको छ । त्यस्तै गरी पार्कसहितको पोखरी निर्माणको लागि पनि १५ लाख रुपैयाँ बजेट छुट्टाइएको र त्यसको उपभोक्ता समिति गठन भइसकेकाले काम सुरु भएको अध्यक्ष सुवेदीले बताउनु भयो ।
महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यका साथ अगाडि बढेको भन्दै त्यही अनुरुप सडकको मापदण्ड वडाले तोकेको छ । वडा कार्यालयमा बसेको बैठकले कम्तीमा ६ मिटर फराकिलो सडक हुनु पर्ने र महानगरले योजनामा पारेको रिङरोडमा पर्ने वडाको सडकलाई कम्तीमा २४ मिटर फराकिलो बनाउने निर्णय गरेको छ ।
वडा नं. ५ को जानकी चोकदेखि छ मुखेचोक, वुद्ध चोकलगायतको स्थानका सडकको मापदण्ड २४ मिटर फराकिलो हुनेछ । त्यस भन्दा बाहेकका सडकको मापदण्ड पनि तोकेको छ । वडाका विभिन्न सडकहरु ८ मिटर, १० मिटर १५ मिटरदेखि माथि फराकिलो हुने छ । वडालाई सुन्दर र विकासको अनुभती गराउनको लागि काम भइराखेको सुवेदीले बताउनु भयो ।
नगरपालिका हुदा निर्माण भएका सडकलाई पुन निर्माण गरेर फराकिलो बनाइ कालोपत्रे गर्ने कामलाई तिब्रता दिएको छ । सुवेदीले भन्नु भयो ‘नगरपालिका हुदाको सडक भत्केका छन्, साघुरो भएको छ, महानगरपालिका भएपछि यहाँको जनधनत्व बढेको छ, त्यसलाई आधार बनाएर पनि हामीले मापदण्ड तोकेर कम्तीमा ६ मिटर नघटाइ कालोपत्रे गर्दैछौ ।’
त्यस्तै गरी वडाले गएको वर्ष गरिब विपन्न समुदायका २६ घरपरिवारको निःशुल्क स्वास्थ्य विमा गरेको थियो । यस वर्षपनि स्वास्थ्य विमा गर्नबाट बन्चित भएका, आर्थिक अवस्था कमजोर भएका २६ परिवारलाई वडा कार्यालयले विमा गरिदिने तयारी भएको अध्यक्ष सुवेदीले बताउनु भयो । उहाले भन्नु भयो ‘स्वास्थ्य उपचारबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले पाँच वर्ष भित्र गरिब विपन्न एकसय ५० घरपरिवारका सबै सदस्यलाई विमा गराउने लक्ष्य रहेको छ ।’

शेयर गरौ

ताजा अपडेट