दमौली, १३ वैशाख :
तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ ।
आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा ३०० घरपरिवारको बीमा गराएको हो । आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार छ वडाबाट ५०÷५० घरधुरी छनोट गरी स्वास्थ्य बीमा गराइएको छ । स्वास्थ्य बीमाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु सात लाख ५० हजार लगानी गरेको छ । गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।
आर्थिक रुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरीब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट बञ्चित नहुन् भन्नका लागि योजना ल्याइएको थापाले जानकारी दिनुभयो ।
वार्षिक रुपमा ३०० घरपरिवारको रु सात लाख ५० हजार शुल्क गाउँपालिकाले बेहोर्नेछ । तनहुँमा विसं २०७४ भदौ १ गतेबाट स्वास्थ्य बीमा शुरुआत भएको थियो । तनहुँ जिल्लामा हालसम्म १० हजारभन्दा बढी घरधुरी स्वास्थ्य बीमामा आबद्ध भइसकेको स्वास्थ्य बीमा कार्यालयले तनहुँले जनाएको छ ।
तनहुँमा दमौली अस्पताल, बन्दीपुरस्थित बन्दीपुर अस्पताल, भिमादस्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, भानु नगरपालिकाका पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ ।(रासस)


