काठमाडौं, १० बैसाख । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ पर्नु भएको छ । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो उहालाई चाबहिल स्थित घरबाटै पक्राउ गरेको हो ।
नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उहालाई पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनु भयो ।
बोगटीका अनुसार उजुरी परेपछि अदालतबाट पक्राउ पूर्जी जारी गराएर उहालाई नियन्त्रणमा लिइएको हो । नेपालले भने उजुरी दिने न्यौपाने आफ्नो घरबेटी भएको बताउँदै आफूलाई फसाइएको दाबी गर्नु भएको छ ।
उहाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु भएको छ्, ‘मैले नरेशकुमार नेउपाने नामक घरधनीलाई घरघाडा वापत ६ लाख रुपैयाँको चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा ६ लाख रकम बुझी आज चेक ल्याउन बिर्सिएँ, भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।’
फणीन्द्रले आफूले नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २१ मंसिर ०७५ शुक्रबार भुक्तान गर्ने गरी दिएको उल्लेख गर्दै पैसा लिइसकेपछि पटक–पटक चेक फिर्ता माग्दा पनि नदिएको दाबी गर्नु भएको छ ।


