पानी परेपछि चितवनमा चिसो बढ्यो, हवाइ सेवा भने नियमित सञ्चालन

चितवन समाचारडटकम ९ माघ । आज बिहानको रातिदेखि चितवनसहित देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ ।
जाडो मौसममा वर्षा भएपछि चितवनमा चिसो बढेको छ । वर्षाले गर्दा चितवनको वायु सेवामा कुनै नकरात्मक असर नपारेको भरतपुर विमान स्थलको कार्यालयले जानकारी दिएको छ । मौसममा आउने परिवर्तनको कारण यहाँ वायु सेवामा असर पर्ने गरेको थियो । विमान स्थलका सूचना अधिकारी दिपक विकले जानकारी दिनु भयो । ‘मौसमको कारण आज कुनै हवाइ सेवा प्रभावित भएको छैन’ उहाले भन्नु भयो ‘अन्य सामान्य दिन जस्तै सेवा सञ्चालन भइराखेको छ । ’
पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा भइरहेको छ । चितनवमा राति ११ बजेदेखि वर्षा सुरु भएको थियो । वर्षाको कारणले गर्दा शैक्षिक सस्थामा जाने विद्यार्थीलाई कठिनाइ भएको थियो ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार, पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट दुइदिनदेखि सुरु वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ ।
उहाको अनुसार वर्षा आज रातिसम्म कायम रहने छ । रातिदेखि परेको पानी आज दिउसो १२ बजे केही समय रोकिए पनि बेलुकीपखबाट फेरि सुरु हुने छ । देशका पश्चिम भागहरुमा भने भोलिसम्म यो प्रणालीको प्रभाव रहने उहाको भनाइ छ । हिजोदेखि सुरु वर्षाले अझै केही दिन निरन्तरता पाउने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाको छ । यो प्रणाली हटेलगत्तै पुनः पश्चिमी वायु नै विकसित हुने र त्यसले पानी पार्ने मौसमविद् नगरकोटीको भनाइ छ ।
भरतपुर विमान स्थल कार्यालयका अनुसार यहाँको न्यूनतम तापक्रम विहान ११ बजे १५ डिग्री सेल्सियस थियो । पानी परेकाले अधिकतम तापक्रम घट्ने छ र जाडो बढ्ने छ । काठमाडौं उपत्यकामा भने तापक्रम यस वर्ष शून्यसम्म पुगेको छ । पानी परेकाले जाडो बढ्ने भए पनि शून्यभन्दा तल भने नझर्ने मौसमविदको अनुमान छ । पश्चिम नेपालको हिमाली जिल्लामा भने भारी हिमपात भएको छ ।

 

शेयर गरौ

ताजा अपडेट