भरतपुर, ७ बैशाख :
तामाङ पत्रकार संघ चितवनले २०७६ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । शनिबार भरतपुर भोजाडमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ बर्षको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो सार्वजनिक गरिएको हो । कार्यक्रममा राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामा प्रमुख अतिथि रहेका थिए । लामाले पत्रकार देशलाई समृद्ध बनाउने महत्वपुर्ण अंग भएकाले सधै निष्पक्ष र तटस्थ भएर समाचार लेख्न आग्रह गरे । उनले देशमा राजनितिक तथा समाजिक परिवर्तन भइसकेकाले अव हरेक नागारिक दक्ष र योग्य हुनुपर्ने धारणा राखे । त्यसका लागि शिक्षामा जोड दिनुपर्ने उनको भनाई छ ।
नेपाल तामाङ घेदुङको संघीय सदस्य गोमन सिहं रुम्बाले कुनै समय राज्यको नितिमा नै पछि परेको तामाङ समुदाय अहिले अधिकारका लागि लड्न सक्षम भइसकेको बताए । उनले तामाङ पत्रकारले समुदायको संस्कृति, भाषा, भेषभुषा जगेर्नामा भुमिका खेल्न सक्नुपर्ने बताए । फोनिजका संघीय सदस्य राजु चौधरीले जुनसुकै समुदायको भए पनि पत्रकारले समावेशी भुमिका खेल्नुपर्ने बताए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पत्रकारको क्षमता अभिबृद्धिका लागि स्थानिय सरकार तथा विभिन्न संघ संगठनले ध्यान दिनुपर्ने धारणा राखे । स्थानिय सरकारहरुले सञ्चारमाध्यम र पत्रकारसँग समन्वय गरेर अघि बढनुपर्नेमा उनीहरुको जोड छ ।
कार्यक्रममा प्रेस चाैतारी चितवनका अध्यक्ष तिर्थ नेपाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, तामाङ पत्रकार संघका संघीय सदस्य उर्गेन तामाङ, घेदुङका जिल्ला अध्यक्षा गोपिराज घलान, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष गंगा लामा, फोनिजका अध्यक्ष सन्दिप कुमार श्रेष्ठ लगायत सरोकारवालाहरुले आफ्नो धारणा राख्दै नयाँबर्षको शुभकामना साटेका थिए ।
संघका सचिव राजेश रुम्बाले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष बबिलाल तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संघका अध्यक्षा ज्ञानेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।


