भरतपुर आएको जापानी टोलीले भन्यो, “यहाँको जनशक्तिलाई जापानमा रोजगारी दिन्छौ ”

चितवन समाचारडटकम , ८ माघ ।
भरतपुर महानगरमा भ्रमणमा आएको जापानको योकोसुका नगरपालिकाको प्रतिनिधी मण्डलले यहाँको जनशक्तिलाई जापानमा रोजगारी उपलब्ध गराउन सक्ने जनाएको छ ।
भगिनी सम्वन्ध कायम गर्ने गृहकार्य स्वरुप जापानको योकोसुका नगरका डेपुटी डाईरेक्टर जनरल ओनिचि युताको नेतृत्वको सात सदस्यीय प्रतिनिधी मण्डल आज दिउसो आईपुगेको हो ।
भ्रमणटोलीलाई भरतपुर महानगरका उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदीले स्वागत एवम् यहाँको वस्तुस्थितीवारे व्रिफिङ गर्नुभएको थियो ।
सो क्रममा भएको द्धिपक्षिय छलफलमा जापानी टोलीले आफ्नो नगरमा केयर गिभर , कृषी फाम जस्तो क्षेत्रमा रोजगारी उपलब्ध हुने जनाएको भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो । “केयर गिभरमा नेपालीहरुको काम विश्वासिलो हुन्छ, त्यस्तो जनशक्ति चाहिएको छ ” जापानी टोलीको भनाई उदृत गर्दै सुवेदीले भन्नुभयो । तर, आफुहरुले प्राविधिक जनशक्ति खपत गर्न प्रस्ताव गरेको र त्यसवारे पछि छmलफल गर्ने आश्वासन पाएको सुवेदीले बताउनुभयो ।
यहाँको श्रमशक्तीलाई जापानको समृद्धिवाट कसरी लाभ दिलाउन सकिन्छ भनेर पनि पहल गरिएको छ । कुनै स्थानीय तह आफैले सम्झौता गरी बैदेशिक रोजगारीको अवसर दिलाउन सकिने कानुनी प्रवन्ध नरहेकोले यसवारे के गर्न सकिन्छ भनेर टोलीले श्रम मन्त्री गोकर्ण विष्ट संग समेत भेटवार्ता गरेको थियो ।
एमओयु तयारीको लागी आएको जापानको नगरको प्रतिनीधि मण्डलमा त्यहाँको नगरका अधिकारी, उद्योगी र ब्यवसायी रहेका छन् ।
पश्चिम चितवनका पर्यटकीय क्षेत्रहरुको स्थलगत अवलोकन गराई टोलीलाई आज यही राखिने र भोली फिर्ता हुने कार्यक्रम छ । भरतपुर महानगरपालिका र जापानको योकोसुका नगरपालिका विच भगिनी सम्वन्ध कायम गर्ने तयारी थालिएको हो । विकसीत एशियाली मुलुक जापानको नगरका प्रतिनिधि मण्डलले भगिनी सम्वन्ध कायम गराउन आवश्यक द्धिपक्षिय समझदारीको तयारी स्वरुप भरतपुर महानगरका प्रमुख रेनु दाहाल र चितवन क्षेत्र नम्वर २ का साँसद कृष्णभक्त पोखरेल संग सोमवार काठमाण्डौमा भेट गरेको थियो ।
टोलीले यहाँको वस्तुगत अध्ययन पछाडी आपसी हितमा के कस्ता समझदारी गर्न सकिन्छ भनेर निर्कयौल गर्ने र आगामी अक्टोवरमा योकोसुका नगरका मेयर भरतपुर आउने कार्यक्रम रहेकोे छ ।

शेयर गरौ

ताजा अपडेट