बुटवल, ७ बैसाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको युग विकास र समृद्धिको युग भएको भन्दै क्रान्तिको नाममा उपद्रो नगर्न विप्लव समूहलाई चेतावनी दिएका छन् ।
बुटवलमा गोरखाली सेनाले ब्रिटिस सेनालाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लामा उभिएर प्रधानमन्त्री ओलीले वीरताको देशमा अहिले विकासको काम भइरहेको दाबी गर्दै आफूले त्यसै ‘समृद्ध नेपाल, खुशी नेपाली’ को नारा नबनाएको बताए ।
ओलीले संविधान विरोधी क्रियाकलाप गर्न कसैलाई छुट नहुने भन्दै संविधान विरोधी काम गर्ने जोकोहीलाई पनि कार्बाहीको दायरामा ल्याएरै छाड्ने दावी गरे । ‘देशमा विकास काम भएका छन् । संघीय सरकार र स्थानीय तहमार्फत मुलुकमा ठूला–ठूला आयोजनाहरु शुरु भएका छन् ।
तर कोही–कोही त्यसै क्रान्तिको नाममा उपद्रो गर्न खोज्छन्’ उनले थपे, ‘अनि कोही कोही दक्षिणवाल ज्योतिषको भम्रमा परेर महाकाली माता पिताको आशीर्वाद लिन पुग्छन् । जनताको विश्वास गर्नुहोन्, ज्योतिषको होइन ।’
वीर पुर्खाहरुले रगत पसिना बगाएर नेपाल भएको भन्दै उनले आफ्नो पहिचान आफै स्थापित गर्ने महान अभियानमा सरकार लागिपरेको पनि बताए । अंग्रेजविरुद्ध विजय प्राप्त गरेको खुशीयालीमा आज बुटवलमा जीतगढी उत्सव समारोह पहिले पटक गरिएको थियो । सो समारोहमा बोल्दै प्रधानमन्त्रीले नेपालीहरु वीरसँगै विद्धान पुर्खाका सन्तान पनि भएको बताए ।
उनले सरकारको ध्यान शान्ति, सुव्यवस्था र विकासमा केन्द्रित रहेको भन्दै अब मुलुकले विकासको बाटो समात्ने दावी गरे । त्यसका लागि सबै आधारहरु तयार हुँदै गएको ओलीको भनाई थियो ।


