चितवन समाचारडटकम ८ माघ ।
गैंडाकोट नगरलाई समृद्ध र सुविधा सम्पन्न बनाउन द्रुतगतीमा विकास निर्माणको कामहरु अघि बढेको नगरपालिकाले जनाएको छ ।
यस कार्यका लागि नगरपालिकाको चालु आर्थिक वर्षको ६२ करोड ३ लाख ७८ हजार रुपैयाँको बजेटले काम भइरहेको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनु भयो । नगरपालिकाले आज गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रगति विवरण सुनाउदै सो जानकारी दिनु भएको हो ।
यस अवधीमा दुइ करोडको लागतमा विभिन्न वडाको बाटोमा कालोपत्रे गरिएको, वडा नं. ५ मा ५० लाखको लागतमा चक्रपथ निर्माण सुरु गरिएको, १२ र १४ नं. वडा जोड्ने ताउ खोलामा ९० लाख रुपैयाँको लागतमा पुल निर्माण कार्य अगाडि बढेको जानकारी दिइएको छ ।
त्यस्तै गरी विद्यालय पूर्वाधार निर्माणमा ३२ लाख ७५ हजार खर्च गरेको, एक करोडको लागतमा सिचाइको लागि विभिन्न वडाहरुमा वोरिङ निर्माण गरिएको, ९८ लाखको लागतमा विद्युत नपुगेको ठाउँमा तारपोल निर्माण कार्य भइराखेको, वडा नं. १ मा ४० लाख रुपैयाँको लागतमा नारायणी नदी तटबन्ध गरिएको छ ।
नगरको सरसफाई, स्वास्थ्य, कृषि, लक्षित वर्गलाई कार्यक्रम जस्ता विषयमा पनि यथेष्ठ ध्यान पु¥याइएको नगर प्रमुख पौडेलले बताउनु भयो । नगरपालिकाले यस वर्ष पूर्वाधार विकासमा ६ करोड ७५ लाख रुपैयाँ खर्च गर्दैछ । त्यस्तै वडाहरुमा एक मुस्ठ ९ करोड बजेट वडागत विभाजनमा छुट्टाइएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख पौडेलले समृद्ध नगरनिर्माण गर्ने अभियानमा साथ दिन सवै पक्षलाई आग्रह गर्नु भयो । सोही कार्यक्रममा नेकपाका गैडाकोट नगर कमिटी प्रमुख षडानन्द लामिछानेले नगरप्रमुखलाई कुनैपनि वहानमा काम गर्न अवरोध सिर्जना गर्न नहुने बताउनु भयो । कार्यपालिका भित्रै अल्पमत र बहुमतको खेलमा हुने झगडाले कसैलाई फाइदा नगर्ने लामिछानेको भनाइ थियो । त्यस्तै नेपाली काँग्रेसका नगर सभापति तारापति खरेलले नगरपालिकाले सबैलाई समेटेर लानु पर्नेमा जोड दिनु भयो ।