हेमराज रिमाल
चितवन समाचारडटकम
भरतपुर, ६ बैशाख
कतिपय समुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको खबर विभिन्न समाचारमा सुन्ने गरिन्छ । तर यस्ता सामुदायिक विद्यालयहरु पनि छन् जहाँ निजि विद्यालयका विद्यार्थीको समेत आकर्षण रहेको छ । चितवनको भरतपुर १० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालयमा भर्ना हुनका लागि प्रवेश परिक्षा दिने विद्यार्थीको थामि नसक्नु भिड लागेको छ ।
सरकारले बैशाख २ गतेबाट १६ गते सम्म भर्ना अभियान चलाएसँगै देशभरका समुदायिक विद्यालयमा विद्यार्थीको घुईचो लागेको छ । चितवनको भरतपुर १० मा रहेको देशको एकमात्र नमुना विद्यालय नारायणी नमुना माध्यमिक विद्यालयमा यसको प्रभाव देखिएको हो ।
करिब ४ सय सिटमा लागि १२ सय ४७ जना विद्यार्थीे आज प्रवेश परिक्षामा सहभागी भएको नारायणी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यपक पुर्णप्रसाद दवाडीले बताउनुभयो । “पहिलाको वर्ष भन्दा यो वर्ष विद्यार्थी संख्या झन् बढ्यो ।” उहाँले भन्नुभयो,“नारायणी नमुना मा.विमा त्यसै नमुना भएको होईन ।” कक्षा ४ देखि ९ सम्मका लागि आज प्रवेश परिक्षा लिईएको थियो ।

विद्यालयमा परिसरका परिक्षा शुरु हुन पुर्व विद्यालयका प्रधानाध्यपक दवाडीले करिब १ हजार भन्दा बढि अभिभावक र परिक्षामा सहभागी हुने विद्यार्थीलाई नारायणी नमुनाको विद्यार्थी र अभिभावक हुन पाउनु गौरव कुरा हुने बताउनुभयो । “पास हुने विद्यार्थी वास्तवमै नमुना हुन पर्छ किनकि तपाई देशको एकमात्र नमुना विद्यालयको विद्यार्थी हो ।” उहाँले भन्नुभयो,“ अभिभावक पनि नमुना बन्नुपर्छ ।” प्रवेश परिक्षाको नजिता आएपछि आफ्नो मोबाईल ५ दिन बन्द हुने प्रधानाध्यपक दवाडीले भन्नुभयो । “ मेरो छोरा छोरीको नाम निस्किएन भर्ना गरिदिनु प¥यो भनि ब्यापक दबाब आँउछ” । उहाँले भन्नुभयो,“ परिक्षा शुरु हुन पुर्व बोल्ने क्रममा अभिभावकलाई मैले दक्षताको आधारमा नाम निस्किने भन्दै फोन गरेर भर्ना गरिदिनु प¥यो नभन्नुस् भने ।”

नेपाल शिक्षक महासंघको केन्द्रिय सह अध्यक्ष समेत रहनुभएका प्रधानाध्यपक दवाडीले शिक्षकले १० देखि ४ वजे सम्मको जागिरे मानसिकता नछोडेसम्म विद्यालय उत्कृष्ट हुने नसक्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“ आफ्नो घर आफ्नो छोरा छारी सम्झेर काम गरे पक्कै नमुना बन्न सकिन्छ ।” विद्यालयमा ८१ जना शिक्षक तथा कर्मचारी रहेका छन् जसमध्ये ३४ जनाले सरकारी तलब खान्छन् बाँकी निजि स्रोतमा विद्यालयले चन्दा उठाएर विद्यालय चलाएको निमित्त प्रधानाध्यपक टेकनाथ पौडेलले बताउनुभयो ।
यस शौक्षिक सत्रबाट विद्यालयले विद्यार्थीको लागि सुविधा सम्पन्न आवास र गाडीको व्यवस्था गर्न लागेको छ ।


