फान्समा साढे आठ सय वर्ष पुरानो भवनमा आगलागी, अन्तर्राष्ट्रिय रूपमा रकम संकलन गर्ने राष्ट्रपतिको घोषणा

काठमाडौं, ३ वैशाख :

फान्सको पेरिसस्थित मध्ययुगीन नोट्रुडाम कथिड्रलमा भीषण आगलागी हुँदा भवनमा क्षति पुगेको छ । साढे आठ सय पुरानो गोथिक भवनको शिखर र छाना खसेको छ ।

यद्यपि दुईवटा बेल टावरसहित प्रमुख संरचना जोगिएको अधिकारीहरूले बताएका छन् । करिब चार सय अग्नी नियन्त्रकको टोलीले चार घण्टापछि आगो नियन्त्रणमा लिन सफल भए ।

राष्ट्रपति एमानुएल माक्रोँले आगलागीलाई एउटा ठूलो विपद्‌को सङ्ज्ञा दिएका छन् । आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन । जीर्णोद्धार कार्य चलिरहँदा आगलागी भएको थियो । ढुङ्गाहरू चर्किन थालेपछि कथिड्रल भत्किन सक्ने आशङ्कमा त्यसको जीर्णोद्धार थालिएको थियो ।

प्यारिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ । घटनास्थलमा भावुक देखिएका राष्ट्रपति माक्रोँले कथिड्रलको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय रूपमा रकम सङ्कलन अभियान थाल्ने प्रतिबद्धता जनाए ।

स्थानीय समय अनुसार सोमवार साँझ साढे ६ बजे शुरू भएको आगलागी छिट्टै कथिड्रलको छानासम्म फैलियो । कथिड्रलको शिखरलाई खसाल्नुअघि आगोले रङ्गीन सिसाका झ्यालहरू र काठका सजावटलाई ध्वस्त बनायो । (एजेन्सी)

शेयर गरौ

ताजा अपडेट