चितवन समाचारडटकम , ८ माघ ।
भगिनी सम्वन्ध कायम गर्ने गृहकार्य स्वरुप जापानको योकोसुका नगरको प्रतिनिधी मण्डल आज भरतपुर आउदैंछ ।
सात सदस्यीय भ्रमण टोली दिउसो २ बजे आईपुग्ने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । एमओयु तयारीको लागी आएको जापानको नगरको प्रतिनीधि मण्डलमा त्यहाँको नगरका अधिकारी, उद्योगी र ब्यवसायी रहेका छन् ।
टोलीलाई महानगर कार्यालयमा दिउसो स्वागत गरी यहाँको वस्तुअवस्थावारे वृफिङ गर्ने र द्धिपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको सुवेदीले जानकारी दिनुभयो । पश्चिम चितवनका पर्यटकीय क्षेत्रहरुको स्थलगत अवलोकन गराई टोलीलाई साँझ मेघौलीमा राखिने छ ।
भरतपुर महानगरपालिका र जापानको योकोसुका नगरपालिका विच भगिनी सम्वन्ध कायम गर्ने तयारी थालिएको हो । विकसीत एशियाली मुलुक जापानको नगरका प्रतिनिधि मण्डलले भगिनी सम्वन्ध कायम गराउन आवश्यक द्धिपक्षिय समझदारीको तयारी स्वरुप भरतपुर महानगरका प्रमुख रेनु दाहाल र चितवन क्षेत्र नम्वर २ का साँसद कृष्णभक्त पोखरेल संग सोमवार काठमाण्डौमा भेट गरेको थियो ।
टोलीले यहाँको वस्तुगत अध्ययन पछाडी आपसी हितमा के कस्ता समझदारी गर्न सकिन्छ भनेर निर्कयौल गर्ने र आगामी अक्टोवरमा योकोसुका नगरका मेयर भरतपुर आउने कार्यक्रम रहेकोे छ ।
जापान आफैमा बिकसीत मुलुक भएकाले यहाँको भौतिक पूर्वाधार विकास, पर्यटन र रोजगारीमा सहयोग प्राप्त गर्ने दिशामा पहल थालिएको हो ।
भरतपुरको विकासका सम्भावनाहरु र जापानको नगरले सघाउन सक्ने विभिन्न क्षेत्रका वारे विस्तृत छलफल गरिने जनाइएको छ । यहाँको श्रमशक्तीलाई जापानको समृद्धिवाट कसरी लाभ दिलाउन सकिन्छ भनेर पनि पहल गरिएको छ । कुनै स्थानीय तह आफैले सम्झौता गरी बैदेशिक रोजगारीको अवसर दिलाउन सकिने कानुनी प्रवन्ध नरहेकोले यसवारे के गर्न सकिन्छ भनेर टोलीले श्रम मन्त्री गोकर्ण विष्ट संग समेत भेटवार्ता गरेको थियो ।