केशव पौडेल
चितवन समाचारडटकम, ८ माघ । गत निर्वाचनमा नेपाली काँग्रेस चितवनका एकजना अगुवा, महासमिति सदस्य त्रिलोचन पौडेललाई तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर वसपार्कमा आयोजित सभामा अविर लगायर पार्टी प्रवेश गराउनुभयो । चितवन काँग्रेसमा राम्रै छवि बनाएका पौडेलले पार्टी परित्याग गर्दै गर्दा काँग्रेसले नमिठो अनुभव गर्यो । पौडेल प्रजातन्त्र सेनानी पनि हुनुहुन्थ्यो ।
संसदीय निर्वाचनमा चितवनमा काँग्रेस “ निल ” भयो । जिल्लामा रहेका तीनवटा संघीय क्षेत्र र ६ वटा प्रादेशिक क्षेत्र सबै गुमाउनु प¥यो । संसदीय निर्वाचनको यस किसिमको परिणामको पछाडी तत्कालिन एमाले र माओवादी केन्द्रको तालमेल प्रमुख मानियो । तर, त्यस अघि नै भएको स्थानीय तहको निर्वाचन पनि काँग्रेसले चितवनमा अनपेक्षित परिणाम वेहोर्यो । एउटा गाँउपालिका वाहेक अहिले सवै तहमा पार्टीको नेतृत्व स्थापित हुन सकेन ।
आन्तरिक गुटवन्दी व्यवस्थापनको चुनौती त छदैं थियो । केही दिन अघि मात्र काँग्रेसका पूर्व सभापति एवम् पूर्व साँसद तीर्थ भुषालले पार्टी परित्याग गरेर नेकपा प्रवेश गर्नुभएको छ । माडीमा वसोवास गर्दै आउनुभएका भुषालको वहिगर्मनले चितवन काँग्रेसलाई अहिले थप पिरोलेको छ । पछिल्लो समय केहि निश्क्रिय देखिएतापनि माडी क्षेत्रमा काँग्रेसको संगठन विस्तारमा भुषालले प्रमुख भूमिका खेलेका थिए । माडीमा काँग्रेजनले भुषाललाई अभिभावक नेताका रुपमा लिने गरेको पाईन्थ्यो ।
भुषालको वहिर्गमन लगत्तै पार्टीलाई पुनरजीवन दिन भन्दै नेपाली काँग्रेस चितवनले माडी सहित जिल्लाका नगरहरुमा सभा, प्रशिक्षण र भेलाको आयोजना गरेको छ । माडीको कल्याणपुरमा माघ १२ गते सभा गर्ने तयारी छ । सभालाई संवोधन गर्न काँग्रस केन्द्रिय सदस्य गगन थापालाई वोलाइएको जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताउनुभयो । “ माडीमा आकस्मिक रुपमै कार्यक्रम तय गरेका हौं, खैरहनी र राप्तीमा पनि कार्यक्रम छ त्यो पहिल्यै तोकिएको हो पार्टीलाई पुनरजीवन दिन यो अभियान थालेका छौ ” श्रेष्ठले भन्नुभयो ।
माघ १६ गते पूर्व महामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा प्रशिक्षण राखिएको छ । कार्यक्रममा केन्द्रिय सदस्यहरु धनराज गुरुङ्ग, जीवन परियार पनि आउनुहुनेछ ।
त्यसैगरी माघ १९ गते राप्तीमा सभाको आयोजना गरिएको चितवन काँग्रेसले जनाएको छ । सभालाई केन्द्रिय सदस्यहरु महेश आचार्य र वद्री पाण्डेले संवोधन गर्ने कार्यक्रम छ ।
संसदीय निर्वाचन पछि चितवन काँग्रेसले अभियानमुलक यो स्तरको कार्यक्रम पहिलो पटक आयोजना गर्न लागेको हो । यी कार्यक्रमहरुमा निर्वाचनमा भएको हार, नेता कार्यकर्ताको वहिर्गमन, सदस्यहरुको निश्क्रियता जस्ता विषयमा गम्भिर समिक्षा गर्ने योजना छ ।
महासमिति बैठक पछि बनेको नयाँ विधान अनुसारका ब्यवस्थावारे पनि प्रशिक्षण गर्ने सभापति श्रेष्ठले जानकारी दिनुभयो । विधानले अव सदस्यहरुलाई निश्क्रिय बस्ने छुट दिएको छैन, अनिवार्य रुपमा प्रशिक्षण लिनुपर्ने , कार्यक्रम र अभियानमा अनिवार्य सहभागी बन्नुपर्ने जस्ता कुरा स्पष्ट गरेको छ यी कुराहरुलाई पनि हामी तल सम्म पु¥याउदैछौ– सभापति श्रेष्ठले भन्नुभयो ।
पहिलो चरणमा तीनवटा नगरमा कार्यक्रम गर्ने , त्यसपछि क्षेत्रगत कार्यक्रम गरेर जिल्ला तहमा कार्यक्रम गरिने चितवन काँग्रेसले जनाएको छ ।


