नयाँ वर्षमा आन्तरिक पर्यटकको रोजाइ सौराहा, चितवनका होटलहरु भरिभराउ

चितवन समाचार डटकम, 
३० चैत । नेपाली नयाँ वर्षको अवसरमा चितवनका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको भिड लागेको छ ।
जिल्लाका पर्यटकीय क्षेत्रका होटल तथा रेष्टुरेन्टहरुमा आन्तरिक पर्यटकले खचाखच भएको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । पूर्वी चितवनको सौराहा क्षेत्रका होटलहरु अहिले ९५ प्रतिशत आन्तरिक पर्यटकले भरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे जानकारी दिनु भयो । नेपालीहरुको नयाँ वर्ष भएकाले आन्तरिक पर्यटकहरु मात्र धेरै देखिएका छन् । उहाले भन्नु भयो विदेशी पर्यटक थोरै मात्र छन् नेपालीले अंग्रेजी र नेपाली दुवै नयाँ वर्ष मनाउने भएकाले अहिले भिड लागेको उहाको भनाइ छ ।
आइतबारबाट नयाँ वर्ष २०७६ लाग्दैछ । यसको आगमनको लागि जिल्लाको सौराहा, पश्चिम चितवनको पटिहानी, मेघौली, जगतपुर, कुरिनटार, कविालस रिसोर्ट लगायतको स्थानका होटलहरुमा भरिएको हो । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष घिमिरेका अनुसार हरेक नयाँ वर्ष, चाडपर्वमा पर्यटकीय क्षेत्रमा आउने र वस्ने सस्कारको विकास भएको छ । विगत चार वर्ष यता नयाँ वर्ष, चाड पर्व, पार्टी सेमिनार, पारिवारिक जमघट गर्न यहाँ आउने संख्या वर्षेनी बढ्दै गएको छ ।
त्यसअघिका वर्षहरुमा अंग्रेजी नयाँ वर्ष मनाउन पर्यटक आउने भए पनि नेपाली नयाँ वर्षमा पर्यटकीय क्षेत्र प्रायः सुनसान जस्तो हुन्थे । पछिल्ला वर्षहरुमा नेपाली नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकले होटल भरिभराउ हुने गरेका छन् । गतवर्ष नेपाली नयाँ वर्षमा ८० प्रतिशत सौराहाका होटल बुकिङ भएका थिए । यसवर्ष ९५ प्रतिशत होटल बुकिङ भइसकेको घिमिरेले बताउनु भयो ।
अर्का पर्यटन व्यवसायी तथा क्षेत्रीय होटल संघ सौराहाका सचिव दामोदर रेग्मीका अनुसार ६० देखि ७० प्रतिशत आन्तरिक तथा बाँकी बाह्य पर्यटक सौराहामा आउने गरेका छन् । नयाँ वर्षको अघिल्लो दिन र नयाँ वर्षको दिन वस्ने कोठा पाउन मुस्किल हुने गर्दछ । आज साँझ बस्न आउने पर्यटकले कोठा नपाउने हुन्छ । दुइदिन यहाँका होटलहरुमा कोठा पाउन समस्या छ । सौराहाका ११० होटलमा पाँच हजार ५०० पर्यटक राख्न सकिन्छ । नयाँ वर्ष मनाउनको लागि सौराहामा काठमाण्डौ, मकवानपुर, पर्सा, वारा, रौतहट, रुपन्देही लगायतका स्थानबाट पर्यटक आएको व्यवसायीले जानकारी दिएका छन् ।
पश्चिम चितवनको मेघौली क्षेत्रका होटलमा पनि पर्यटक भरिएको पर्यटन व्यवसायी सुवोध प्रधानले बताउनु भयो । शान्त वातावरणमा वसेर रमाउनको आउने पर्यटकहरुले भरिएको उहाले भन्नु भयो । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीका अनुसार सौराहाका होटल रेष्टुरेण्टहरु पर्यटकले भरिएका छन् । शुक्रबारदेखि नै पर्यटकको चहलपहल बढेको छ । त्यसो त विदेशीले भन्दा नेपाली पर्यटकले बढी खर्च गर्दछन् उहाले भन्नु भयो । नेपालीको गोजीमा रु एक हजार भयो भने रु ९०० खर्च गर्छन् विदेशले रु एक हजार भयो भने रु ३०० सम्म मात्रै खर्च गर्छन् ।
आम्दानीको हिसाबले स्वदेशी पर्यटक फाइदाजनक हुने उहाले बताउनु भयो । यस वर्ष नयाँ वर्षको अघिल्लो दिन शनिबार परेको छ । दुइ दिन विदा हुदा पर्यटकको सख्या सौराहामा वढेको छ । पछिल्ला वर्षहरुमा नेपालीहरुमा भ्रमण र खर्च गर्ने प्रचलन बढ्दो छ । यतिबेला विद्यालयको परीक्षा सकिएर नयाँ कक्षा सञ्चालन भइ नसकेकाले पारिवारिक भ्रमण पनि बढी हुने गर्छ ।
सौराहा आउने पर्यटक राप्ती किनारको बगरमा बसेर निकुञ्ज नियाल्दै रमाउँछन् । पर्यटकले हात्ती, डुंगा र जिप सफारी पनि गर्छन् । देशको तेस्रो पर्यटकीय गन्तव्य मानिने चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ एकसिंगे गैँडा, बाघलगायत जंगली जनावर हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

शेयर गरौ

ताजा अपडेट