रत्ननगर २५ चैत ।
चितवनको रत्ननगर नगरपालिकाले होम स्टे सहितको साँस्कृतिक ग्राम निमाण सुरु गरेको छ । पर्यापर्यटनको विकास गरि स्थानीयको आयआर्जन वृद्धि गर्ने उदेश्यले इको पार्क,होम स्टे र साँस्कृतिक ग्राम निर्माण सुरु गरिएको मेयर नारायण वनले बताए । रत्ननगर ९ मा निर्माण गर्न लागिएको सास्कृतिक ग्रामलाई होमस्टेको रुपमा विकास गरि पर्यटन प्रवद्र्धन गरिने नगरपालिकाले जनाएको छ । सांस्कृतिक ग्रामका लागि १ करोड भन्दा वढि वजेट विनियोजन भएको छ । सांस्कृतिक ग्रामको सोमवार रत्ननगरका मेयर नारायण वनले सिलान्यास गरेका छन् । नगर भित्र रहेका विभिन्न जातजातिको घर त्यहाँ निर्माण हुनेछ । नगरका हरेक जातिलाई सम्वोधन गर्ने प्रयास हो मेयर वनले भने – यसले पर्यटनको विकास भई स्थानीयको आयआर्जनमा भुमिका खेल्छ । होमस्टेको रुपमा विकास गरिने लक्ष्य रहेको उल्लेख गर्दै मेयर वनले ग्राम आम्दानीको श्रोत वन्ने र त्यहाँबाट भएको आम्दानी स्थानीयकै आयआर्जनमा लगाईने वताए । पहिलो चरणमा पाँच वटा घर निर्माण गरिने छ । आगामी वर्ष पाँच वटा घर थप गरिने छ । जहाँ थारु,चेपाङ,कुमाल,तामाङ,मगर आदि जातिको पहिचान,संस्कृति झल्कने गरी घर निर्माण हुने मेयर वनले वताए । सौराहा घुमेर वस्न र रमाईलो गर्नका लागि सांस्कृतिक ग्राममा पर्यटकलाई ल्याउने वातावरण सृजना गर्नु पर्ने उनको भनाई छ । रत्ननगर ९ का वडाध्यक्ष रोशन आचार्यले इको टुरिजम पार्कसंगै सांस्कृतिक ग्रामले स्थानीयको आयआर्जनमा विकास भई नगरकै पहिचान दिलाउने विश्वास व्यक्त गरे । नगरपालिकाले स्थानीय टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिसंग सहकार्य गरेर काम गरिरहेको छ । कुल सात विगाहा क्षेत्रफल रहेकोमा ४ विगाहा पिकनिक स्पटको रुपमा प्रयोग गरिदै आएको छ । इको पार्कसंगै सास्कृतिक ग्राममा आकर्षक वगैचा,भ्यु टावर,रेस्टुरेन्ट लगायत रहने वडाध्यक्ष आचार्यले वताए । सास्कृतिक ग्राम स्थललाई यसअघि इको टुरिजम पार्कको रुपमा विस्तार गर्ने योजना अनुरुप काम भएको थियो । त्यहाँ तीन वर्ष अगाडीदेखी नगरपालिकाले आफ्नै वजेटमा पार्क निर्माण गरेको हो ।


