भरतपुर र जापानको योकोसुका नगर बीच भगिनी सम्वन्ध कायम गरिदैं , जापानी मेयर अक्टोवरमा भरतपुर आउने

चितवन समाचार डटकम, माघ ७ ।

भरतपुर महानगरपालिका र जापानको योकोसुका नगरपालिका विच भगिनी सम्वन्ध कायम गरिने भएको छ ।
विकसीत एशियाली मुलुक जापानको नगरका प्रतिनिधि मण्डलले भगिनी सम्वन्ध कायम गराउन आवश्यक द्धिपक्षिय समझदारीको तयारी स्वरुप भरतपुर महानगरका प्रमुख रेनु दाहाल र चितवन क्षेत्र नम्वर २ का साँसद कृष्णभक्त पोखरेल संग सोमवार काठमाण्डौमा भेट गरेको छ । जापानी प्रतिनिधी मण्डल भोली भरतपुर आई स्थलगत भ्रमण गर्ने साँसद पोखरेलले जानकारी दिनुभयो ।

टोलीले यहाँको वस्तुगत अध्ययन पछाडी आपसी हितमा के कस्ता समझदारी गर्न सकिन्छ भनेर निर्कयौल गर्ने र आगामी अक्टोवरमा योकोसुका नगरका मेयर भरतपुर आउने कार्यक्रम तय गरिएको छ ।
जापान आफैमा बिकसीत मुलुक भएकाले हामीले यहाँको भौतिक पूर्वाधार विकास, पर्यटन र रोजगारीमा सहयोग प्राप्त गर्ने दिशामा छलफल अघि बढेको साँसद पोखरेलले जानकारी दिनुभयो । “भरतपुरको विकासका सम्भावनाहरु र जापानको नगरले सघाउन सक्ने विभिन्न क्षेत्रका वारे विस्तृत छलफल भएको छ , अझ यहाँको श्रमशक्तीलाई जापानको समृद्धिवाट कसरी लाभ दिलाउन सकिन्छ भनेर प्रयत्न पनि भएका छन्” पोखरेलले भन्नुभयो ।
कुनै स्थानीय तह आफैले सम्झौता गरी बैदेशिक रोजगारीको अवसर दिलाउन सकिने कानुनी प्रवन्ध नरहेकोले यसवारे के गर्न सकिन्छ भनेर टोलीले श्रम मन्त्री गोकर्ण विष्ट संग समेत भेटवार्ता गरेको छ ।
एमओयु तयारीको लागी आएको जापानको नगरको प्रतिनीधि मण्डलमा त्यहाँको नगरका अधिकारी, उद्योगी र ब्यवसायी रहेका छन् ।

शेयर गरौ

ताजा अपडेट