भरतपुर , २४ चैत :
मदन भण्डारी फाउण्डेशन चितवनले रक्तदान गर्न आव्हान गरेको छ । २६ औं मदन आश्रित स्मृति दिवसको अवसरमा भोलि (सोमबार) आयोजना गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्न फाउण्डेशनले आव्हान गरेको हो ।
तराईका बारा र पर्सामा हावाहुरीका कारण धेरै जना घाईते भएको र चितवनमा पनि रगतको अभाव देखिएकाले रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले बताउनुभयो । रगतको अभावमा जीवनमरणको दोसाधमा रहेका बिरामीलाई बचाउने जस्तो पवित्र कार्यमा सहभागी भई रक्तदान गर्न उहाँले आग्रह गर्नुभयो ।
फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक शम्भु सुवेदीले भरतपुरको चौबीसकोठीमा चैत २५ गते बिहान ७ बजेबाट शुरु हुने रक्तदान कार्यक्रममा सहभागी हुन आम जिल्लावासीलाई आग्रह गर्नुभयो । प्रत्येक तीन÷तीन महिनामा रक्तदान गर्न सकिने बताउँदै उहाँले कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने बताउनुभयो ।


