चितवन समाचार डटकम
चितवन २१ चैत । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले लोकप्रियता घटाउने होइन बढाउने काम गर्नु पर्ने बताउनु भएको छ ।
नेकपाका नेता जागृतप्रसाद भेटवालको प्रथम वार्षिकी सभालाई आज पूर्वी चितवनको भण्डारामा सम्वोधन गर्दै उहाले सो कुरा बताउनु भएको हो । जनताले यही सरकारबाट विकास सम्भव छ भन्ने सोचेकाले त्यसलाई मध्यनजर गरी काम गर्नको लागि सुझाव दिनु भयो । उहाले भन्नु भयो ‘इतिहासमानै शक्तिशाली सरकार छ यो अवस्थामा नगरेको विकास कहिले गर्ने, सरकारको लोकप्रियतालाई वढाउने काममा लाग्नु पर्दछ ।’
प्रतिपक्ष शशक्त नभएको अवस्थामा पनि सरकारले जनताको चाहना वमोजिम काम गर्न सकेन भने इतिहासले हामीलाई माफी दिदैन । उहाले भन्नु भयो ‘जनचाहनालाई नबुझी सत्ताको दुरुपयोग गर्न थाल्यौ भने त्यसले सिंगो पार्टीलाई वर्वाद गर्दछ हामी सकिन्छौ ।’ राजनीति मैदान खाली जस्तै छ प्रतिपक्ष चुपलागेर वसेको अवस्था छ अहिले नगरे कहिले काम गर्ने उहाले प्रश्न गर्नु भयो । वडा सदस्यदेखि सरकार सञ्चालन गर्नेसम्मले जनताको चाहना अनुसार काम गर्नु पर्नेमा जोड दिनु भयो ।
जनस्तरमा लोकप्रिय हुनु भएका जागृतप्रसाद भेटवालको एक वर्ष अगाडि क्यान्सर रोगको कारणबाट मृत्यु हुनु भएको थियो । उहाले विभिन्न सामाजिक कार्य गरेर लोकप्रिय हुनु भएको थियो ।


