घाइते चेपाङ बालिकाको स्वास्थ्य अवस्था बुझ्न मुख्यमन्त्री पौडेल भरतपुर अस्पतालमा

चितवन, ७ माघ । प्रदेश नं. ३ का मुख्य मन्त्री डोरमणि पौडेलले सांघातिक आक्रमणमा परी घाइते हुनु भएकी चेपाङ बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।
भरतपुर अस्पतालमा उपचार गरारहनु भएकी दुइ बालबालिकाको स्वास्थ्य अवस्थाबारे अस्पतालमा पुगेर आज दिउसो जानकारी लिनु भएको हो । घरायसी सामान खरिद गरेर घर फर्कने क्रममा राप्ती नगरपालिका वडा नं. १३ की १६ वर्षीय र १० वर्षीय बालिका माथि अन्दाजी ३० वर्षको पुरुषले बलात्कारको प्रयास गर्दै आक्रमण गरेका थिए । आइतबार दिउसो २ बजे आक्रमणमा पर्नु भएकी बालिकाको भरतपुर अस्पतालमा उपचार भइराखेको छ ।
घाइते बालिकाको स्वास्थ्य उपचारमा कुनै पनि कसर बाकी नराख्ने मुख्यमन्त्री पौडेलले बताउनु भयो । अस्पताल ल्याएपछि आवश्यक उपचार भइराखेको हामीले पाएका छौ पौडेलले भन्नु भयो उपचार निःशुल्क हुन्छ । थप जटिल अवस्था देखिएको छैन । दोषी पहिचान भइसकेको छ ती व्यक्ति माथि कार्बाही हुन्छ । जनताको जीउधनको सुरक्षा र शान्ति कायम गर्न प्रहरीले काम गरी राखेको छ ।
तत्काल घटनाको विषयमा प्रहरी र अस्पतालबाट आफ्नो जिम्मेवारी पूरा गरेकाले दोषीलाई नियन्त्रणमा लिएर छिटो कार्बाहीको प्रकृयामा जाने पौडेलले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दिपेन्द्र शाहले भन्नु भयो ‘दोषी पहिचान भइसकेकाले आज साँझसम्म सार्वजनिक गर्ने तयारी छ ।’ घाइते बालिकाको स्वाव परिक्षण भइसकेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्ण पौडेलले बताउनु भयो । अन्तिम रिपोर्ट प्रहरीबाट सार्वजनिक हुने उहाको भनाइ छ ।
बालिकाको स्वास्थ्य अवस्थाको जानकारी लिनको लागि मुख्यमन्त्री पौडेलका राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, राप्ती नगरपालिकाकी प्रमुख प्रभा वरालपनि पौडेलसगै अस्पताल पुग्नु भएको थियो ।

ताजा अपडेट