काठमान्डौ,माघ ७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका निर्णयले नेपाली कांग्रेस र लोकतान्त्रिक परिवर्तनको इतिहास मेटाउन खोजिएको भन्दै संघीय संसद प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ ।
पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालिन सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा तनहुँ र बाँकेमा स्थापना गरिएका अस्पताललाई संघीय सरकार मातहत राख्न मन्त्रिपरिषद्ले अस्वीकार गरेको आरोप लगाउँदै कांग्रेसले संघीय संसदका दुवै सदन अवरुद्ध गरेको हो ।
सोमबार १२ बजे बसेको प्रतिनिधिसभामा कांग्रेसले यी दुई अस्पताललाई खारेज गर्ने ध्येयका साथ प्रस्ताव स्थगन गरिएको कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बताए । उनले भने, ‘सरकारले नेपाली कांग्रेसको इतिहासमाथि प्रहार गरेको छ । नेपाली कांग्रेसका नेताहरूको इतिहासमाथि मात्रै होइन नेपालको लोकतान्त्रिक इतिहासमाथि पनि प्रहार गरेको छ।’ नेपाल सरकारले दुवै अस्पतालको अस्तित्व कायम नगरून्जेसम्म सदनको कारबाही अवरुद्ध गर्ने जानकारी दिए ।
राष्ट्रियसभा पनि यसै विषयमा अवरुद्ध
संघीय संसदको राष्ट्रियसभा पनि यसै विषयमा कांग्रेसले अवरुद्ध गरेको थियो । ‘दुई तिहाइको बहुमतको अहंकारमा यो सरकारले जथाभावी निर्णय गर्न खोजेको छ’, उनले थपे, ‘बिपी कोइराला राजमार्गलाई सक्ने भए केपी ओली राजमार्ग बनाउनुस् ।’ जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संघीय सरकार मातहत ल्याउने प्रस्ताव मन्त्रिपरिषद्ले स्थगन गरेकोप्रति कांग्रेसले आपत्ति जनाउँदै आएको छ भने सरकारले उक्त प्रस्ताव स्थगन मात्रै भएको कांग्रेसले भनेजस्तो खारेज नभएको प्रष्टिकरण दिँदै आएको छ ।