लौरीघोल पर्यटकीय क्षेत्र बनाउन १९ करोड लाग्ने

चितवन १२ चैत । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पर्ने लौरीघोललाई पर्यटकीय क्षेत्र निर्माण गर्नको लागि १९ करोड रुपैया लाग्ने भएको छ ।
लौरीघोल संरक्षण र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने विषयमा आज भएको छलफलमा यस्तो जानकारी दिएको हो । लौरीघोल रत्ननगरको सुन्दरताको प्रतिक हो । यसको संरक्षणसंगै पर्यटकीय गन्तव्य बनाउन विस्तृत परियोजना तयार पारिएको थियो । रत्ननगर नगरपालिकाले तयार पारेको डिपिआर बारे जानकारी दिदै नगर प्रमुख नारायण वनले यसले पूर्णता पाउदा १९ करोड लाग्ने बताउनु भयो ।
पूर्णता पाएपछि रत्ननगरको एउटा गहानाको रुपमा लौरीघोल रहने प्रमुख वनले बताउनु भयो । डिपिआरको विषयमा नगरपालिकाका इन्जिनियर पंकज गिरीले विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । लौरीघोलको महत्वको विषयमा यहाँका निजी क्षेत्रले समेत चासो दिएका छन् । यसको प्रदेश सरकारले ५० लाख रुपैया विनियोजन गरेको छ । विनियोजित बजेटबाट आवश्यक पूर्वाधार निर्माण प्रक्रिया सुरु गराउन उद्योग बाणिज्य संघले स्थानीय सरकार र प्रदेश सरकारलाई चासो दिन पहल गरेको छ ।
लौरीघोलको संरक्षण र विकासको लागि पहल थाल्न रत्ननगरका पुराना व्यवसायी गोपालराज कर्मचार्य संयोजक रहेको सरोकार समिति वनाइएको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिनु भयो । सरोकार समितिले लौरीघोल संरक्षण विकासको प्रक्रियामा आवश्यक पर्ने जग्गा व्यवस्थापन, स्थानीय स्तरमा गर्नुपर्ने आवश्यक पहल र अपुग बजेट सरकारसंग माग गरेको संघका अध्यक्ष रेग्मीले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा साँसद सुरेन्द्र पाण्डेले लौरीघोल संरक्षणको काम सुरु गर्नुपूर्व जग्गा व्यवस्थापनको कामलाई अगाडि बढाउन नगरपालिकालाई आग्रह गर्नु भयो । प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल,कञ्चन खनाल,पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी,वडा नं २ का वडा अध्यक्ष तिलकराज शर्मा पौडेल,रत्ननगर उद्योग बाणिज्य संघका पूर्व महासचिव देवेन्द्र कुमार श्रेष्ठ,समाजसेवी निजानन्द मल्ल,बद्रीप्रसाद घिमिरे,संघका महासचिव निराजन खनाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट