मकवानपुर, चैत ९ /
सामुदायिक सञ्चार समूहद्वारा संचालित रेडियो सन्देश १०६.९ मेगाहर्ज र निकास साप्ताहिकको आयोजनामा थाइल्याण्डको बैंककमा “सन्देश अवार्ड, सम्मान एवम् पत्रकारिता पुरस्कार समर्पण समारोह–२०७५“ भव्यताका साथ सम्पन्न भएको छ ।
नेपालबाट गएको टोली, थाईल्याण्डमा रहेका नेपाली तथा थाइल्याण्डका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा रेडियो सन्देशकोतर्फबाट समाजमा योगदान गर्नेलाई अवार्ड सहित सम्मानित गरिएको थियो ।
रेडियो सन्देशका अध्यक्ष तथा निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काले पिताको नाममा स्थापना गरेको रामचन्द्र खड्का स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।
सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको कार्यक्रममा रामचन्द्र खड्का स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार– २०७४ प्रकाश दाहाल र २०७५ गणेश दर्पण अधिकारीलाई प्रदान गरिएको थियो । उनिहरुलाई प्रमाणपत्रसहित जनही १० हजार नगद पनि प्रदान गरिएको थियो ।
यस्तै सन्देश युथ अवार्ड -२०७५ बाट किरण अधिकारी, योग्यराज सापकोटा र अनिश पौडेललाई सम्मान गरिएको छ भने चुरे हिल अस्पतालका प्रमुख डाक्टर सुन्दर श्रेष्ठलाई सन्देश डाक्टर अफ दि इयरबाट सम्मानित गरिएको छ ।
यस्तै सन्देश म्युजिक अवार्ड नवीन खड्का र अन्जन दाहाललाई प्रदान गरिएको छ ।
कार्यक्रममा वर्ष व्यक्ति सम्मानबाट अबिनास गजुरेल, रामचन्द्र पौडेल, राजेन्द्र ढुंगाना र केदार चौलागाईंलाई सम्मानित गरिएको थियो । यसैगरी निकास सन्देश सामुदायिक सम्मानबाट नेपाली भाषा, कला र सस्कृती संरक्षणमा कृयाशिल दीपक पराजुली र सामाजिक व्यक्तित्व सुनिल खड्कालाई सम्मान गरिएको छ ।
रेडियो सन्देश १०६.९ मेगाहर्जका अध्यक्ष तथा निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि थाइल्याण्डका लागि नेपाली राजदूत डाक्टर खगनाथ अधिकारी रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश– ३ का प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, संविधानसभाका पूर्व सदस्य प्रल्हाद लामिछाने, विशाल खड्का, सामुदायिक रेडियो प्रशारक संघका कोषाध्यक्ष लक्ष्मण खड्का, प्रेस सेन्टर नेपालका उपाध्यक्ष कमल गिरि लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । सम्मानित तथा पुरस्कृत सबैलाई प्रमुख अतिथि र विशिष्ट अतिथिले सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका उपाध्यक्ष कमल गिरी, सामुदायिक रेडियो प्रशारक सघ (अकोराब) का कोषाध्यक्ष लक्ष्मण खड्का, डाक्टर सुन्दर श्रेष्ठ, केदार चौलागाई, सुनिल खड्का, एन आर एन थाइल्याण्डका उपाध्यक्ष भबिन्द्र बस्नेत लगायतकाले मन्तव्य गर्नुभएको थियो ।
कार्यक्रममा चर्चित गायक अन्जन दाहाल, नवीन खड्काले विभिन्न गीत प्रस्तुत गरेर कार्यक्रमलाई सांगीतीक माहौलमा रुपान्तरण गरेका थिए । कार्यक्रम समापन पछि नेपालीहरुको रंगहरुको पर्व होली पनि मनाइएको थियो । कार्यक्रममा सहभागी हुन नेपालबाट ७५ जनाको टोली सहभागी भएका थिए ।