रत्ननगर , चैत ९ ।
पूर्वी चितवनको रत्ननगरमा प्राविधिक शिक्षा सञ्चालन र यसको प्रभावकारिताको विषयमा अन्र्तक्रिया गरिएको छ ।
रत्ननगर नगरपालिकाले पञ्चकन्या मावि,बैरिया मावि र जनजागृती माविमा सुरु गरेको प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन नगर भित्रका सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापकहरुसंग छलफल गरिएको हो ।
कार्यक्रममा तीन विद्यालयमा प्राविधिक शिक्षा पढने विद्यार्थीहरुको जिल्ला भित्रबाट सहभागिता बढाउन गर्नुपर्ने पहलका विषयमा छलफल गरिएको रत्ननगर नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष केशब आचार्यले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै मेयर नारायण वनले पूर्वी चितवनलाई शैक्षिक हव बनाउन सकिने बताए । उनले देशभरका विद्यार्थीहरु पढनका लागि पूर्वी चितवन जानु पर्छ भन्ने सन्देश दिने गरी यस क्षेत्रलाई शैक्षिक विकासको धरोहरको रुपमा विकास गर्ने योजना रहेको बताए । कार्यक्रममा जनजागृती मावि प्रधानाध्यापक विनोद प्रसाद अधिकारी,पञ्चकन्या माविका प्रधानाध्यापक मेघनाथ दुवाडी र बैरिया माविका कार्यक्रम संयोजक योगेन्द्र पन्तले प्राविधिक शिक्षाको कक्षा सञ्चालनको लागि आइपर्ने समस्या र सामधानको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नगर शिक्षा समितिका सदस्य तथा स्काइराइडर आमाविका प्राचार्य मदन पुरीले तीनबटा सामुदायिक विद्यालयमा सुरु गरिएको प्राविधिक शिक्षामा भर्ना भएका अधिकांस विद्यार्थी प्रदेश नं २ का रहेको भन्दै चिन्ता व्यक्त गरे । रत्ननगर नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष केशव आचार्यको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल शिक्षक संघ चितवनका अध्यक्ष डा.हरि कँडेल,नगर शिक्षा समिति सदस्य विष्णु पौडेल, बैरिया माविका प्रधानाध्यापक यवराज शर्मा पौडेलले लगायतले मन्तव्य राखेका थिए ।