काठमाडौं, ७ चैत । सरकारले दुई वटा रेल खरिद गर्नको लागि ८४ करोड ६५ लाख बजेट दिएको छ ।
सरकारले रेल विभागलाई डेमु (डिजल इलेक्ट्रिक मल्टिपल युनिट) रेल किन्न ८४ करोड ६५ लाख ९५ हजार ६ सय (करसहित) बजेट स्विकृति दिइएको हो ।
भारतीय सरकारी कम्पनी कोन्कान रेलवेज कर्पोरेसन लिमिटेडमार्फत अब सरकारले जिटुजी प्रक्रियामार्फत दुई वटा (डिब्बा )रेल खरिद गर्ने आज सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको हो । चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले यसबारे जानकारी गराउनु भयो ।
रेल किन्नका लागि सरकारले यसअघि विभागलाई ५० करोड रुपैयाँ दिएको थियो । उक्त रकम अपुग भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप रकम माग गरेपछि सरकारले थप रकम दिने निर्णय गरेको छ ।
रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार अहिले खरिद गर्न लागिएको रेलको एक सेटमा पाँच वटा कार (डिब्बा) हुनेछ । अत्याधुनिक प्रविधिको डेमु रेल तीन सय किलोमिटरसम्मको यात्राको लागि अत्यन्तै उपयोगी मानिन्छ ।
एक सेटले एक हजार दुई सयदेखि एक हजार तीन सय जना यात्रु धान्ने क्षमता राख्ने प्रवक्ता चित्रकारले बताउनु भयो । खरिद गर्न लागिएको दुई सेट डेमु ट्रेन जनकपुर–जयनगर क्षेत्रमा सञ्चालन हुनेछ ।
