चितवन समाचार डटकम
चितवन ६ चैत । पूर्वी चितवनको खनाल इटा उद्योगमा प्रारम्भिक बाल विकास तथा सिकाइ केन्द्रको शिलान्यास गरिएको छ ।
खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले भवनको सिलान्यास गर्नु भएको हो । खैरहनी नगरपालिका वडा नं. २ पटिहानीमा रहेको इटा उद्योग परिसरमा निर्माण हुन लागेको भवनले बाल सिकाइमा सहयोग पुग्ने विश्वास लिइएको छ । बेटर ब्रिक नेपाल कार्यक्रम अन्तरगत शैक्षिक चेतना नेपाल काठमाण्डौंको सहयोग तथा युथ क्लव नारायणगढको आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीले इट्टा उद्योगमा काम गर्न आउने मजदुरका बालबालिकाको शिक्षामा नगरपालिकाको ध्यान गएको बताउनु भयो । उहाले ती बालबालिकामा कुनै किसिमको सहयोगको जरुरत परेमा नगरपालिका संधै तयार भएको भन्दै अनुगमनलाई निरन्तरता दिएको जानकारी दिनु भयो ।
उद्योगी कमलचन्द्र खनालले प्रारम्भिक बाल विकास तथा सिकाई केन्द्र इसीइसी भवनको मर्मत संम्भार, रेखदेख र बालकक्षा सञ्चालनका लागि आवश्यक सहयोग इट्टा उद्योग रहंदासम्म गरिरहने प्रतिवद्धता जनाउनु भयो ।
९ लाख १७ हजार ३ सय ४० रुपैयाको लागतमा भवन निर्माण हुन लागेको हो । भवनको भुकम्प प्रतिरोधी, नेपाल सरकारबाट मान्यता प्राप्त एवं स्वीकृत युनिसेफ नेपालले डिजाइन गरेको छ । बालबालिकाको लागि बन्ने भवनमा शौचालय र हातधुने स्थानसमेत निर्माण गरिने इन्जिनियर सास्वत घिमिरेले बताउनु भयो ।
युथ क्लव नारायणगढका उपाध्यक्ष रामबावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममां २ नं. वडाका अध्यक्ष टीकादत्त इटनी, पटिहानी आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जीवनकुमारी अर्याल, पटिहानी टोल विकास संस्थाका अध्यक्ष तुलसी श्रेष्ठ, युथ क्लव नारायणगढका कार्यकारी निर्देशक दयाराम कंडेल, बेटर ब्रिक नेपाल परियोजना संयोजक रामचन्द्र आचार्यलगायतले भवन निर्माण भएपछि त्यसको उचित तरिकाले उपयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
बेटर ब्रिक नेपाल कार्यक्रमले इट्टा उद्योगमा बालश्रम हटाउने र कामदार तथा वातावरण मैत्री उद्योग बनाउन उद्योगीलाई प्राविधिक सहयोग प्रधान समेत गर्दछ । नेपाल सरकारका न्युनतम मापदण्ड लागु गर्न प्रोत्साहित गर्ने र खर्च कम गर्ने र उत्पादन बृद्धि गर्न समेत सहयोग गर्दछ । कामदार मैत्री उद्योग र उद्योग मैत्री स्थानिय शासन भन्ने मूलनारा रहेको कार्यक्रम संयोजक रामचन्द्र आचार्यको भनाई रहेको थियो ।