भरतपुर/
चितवनमा दिनप्रतिदिन युवायुवतीहरुमा फेशन शो र मोडलिङको क्षेत्रमा रुची बढ्दै गएको छ । युवायुवतीहरुको फेशनप्रतिको रुचीलाई मध्यनजर राख्दै सोसेजेनिस मिडिया प्रा.लि.ले मिष्टर एण्ड मिस ग्रयाण्ड चितवन –२०१९ को आयोजना गर्दैछ । शुक्रबार र शनिबार भरतपुर, रत्ननगर क्षेत्रमा छुट्टाछुट्टै अडिसनको आयोजना गरेको सोसेजेनिस मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक एवं अध्यक्ष मिलन लामा (गोले) ले जानकारी दिए ।
शुक्रबार भएको पहिलो अडिसनबाट १३ जना र शनिबार भएको दोश्रो अडिसनबाट १७ जना गरी ३० जना सहभागीहरुको अडिसन लिइएको थियो । अडिसन कार्यक्रममा युवा व्यवसायी एवं सञ्चार उद्यमी राकेशमान श्रेष्ठ, उज्यालो टाईम्स पत्रिकाका प्रधान सम्पादक राजु भट्ट, मिस नर्स चितवन–२०१४ की सेकेण्ड रनरअफ रचना पुरी, मिसेस स्टन चितवन –२०१८ की बिजेता सम्झना कँडेल भट्ट, मोडल एवं मेकअप आर्डिटस् सविना चौधरीले सहभागीहरुसँग प्रश्नोत्तर गरेका थिए । अडिसन लगत्तै सहभागीहरुलाई कोरियोग्राफर प्रोसेसजङ्ग थापाले टे«निङ्ग दिनेछन् । यसअघि सोसेजेनिस मिडिया प्रा.लि.ले उज्यालो चितवन, चितवन आइडल, मिष्टर एण्ड मिस इष्टन चितवन, फेशन नाइट जस्ता दर्जनौ कार्यक्रमहरुको समेत आयोजना गरिसकेको छ ।