मोजाम्बिकमा आएको समुद्री चक्रपातका कारण १ हजारभन्दा बढीको ज्यान गयो

काठमार्डौ, ५ चैत :

अफ्रिकी मुलुक मोजाम्बिकमा आएको इडाई समुद्री चक्रपातका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको चक्रपातले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति भएको छ । मोलाम्बिकका राष्ट्रपति फिलिपे नुसीले चक्रपातमा ज्यान गुमाउनेहरुको संख्या १ हजार नाघेको बताए । बेयराको निरीक्षण गर्दै राष्ट्रपति नुसीले आँधीले विध्वंस नै मच्चाएको बताए । उनले हवाई निरीक्षणका बेला बाढीको भेलमा कयौं मानिसको शव तैरिरहेको देखेको जानकारी दिए ।

सोही चक्रपातका कारण अफ्रिकाका दक्षिणी भेगमा १ सय ८० जनाको मृत्यु भएको छ । झन्डै पाँच लाख मानिस बस्दै आएको बेयरामा ९० प्रतिशत शहर ध्वस्त भएको बताइएको छ ।

विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति पुर्‍याउन नसकेको कुनै पनि घर भेट्न नसकेको बताएका छन् । उद्दारकर्ताहरूले शहरबाहिर झनै विकराल समस्या भएको हुनसक्ने बताएका छन् । धेरै ठाउँमा बिजुली र सञ्चार सम्पर्क टुटेको छ । सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएका छन् जसका कारण राहत कार्य झन् चुनौतीपूर्ण हुने बताइएको छ ।

बेयराबाट अन्यत्र जोडिने सडक अबरुद्ध भए पनि विमानस्थल भने सञ्चालनमा ल्याइएको छ । आँधीका कारण छिमेकी मुलुक जिम्बाब्वेमा ९८ जनाको मृत्यु भइसकेको छ भने २ सय १७ जना बेपत्ता भएको अधिकारीहरुले जनाएका छन् । यसैगरी मलावीमा समेत आँधीले ठूलो क्षति पुर्‍याएको बताइएको छ ।

मलावीमा आँधी आउनुअघिको भीषण वर्षा र बाढी तथा पहिरोले १ सय २२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएको छ ।(एजेन्सी)

शेयर गरौ

ताजा अपडेट