रत्ननगर, ३ चैत । चितवनको रत्ननगर नगरपालिका १० स्थित प्यारागन माध्यमिक विद्यालय एवम् क्वेष्ट मोडल कलेजले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिएकाले शैक्षिक गुणस्तर प्रभावकारी हुँदै आएको छ ।
आफ्नो १५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै कलेजका प्राचार्य जगदिशचन्द्र शर्माले सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षाले मात्रै विद्यार्थी सक्षम हुने भएकाले विद्यालयले प्रयोगात्मक शिक्षा प्राथमिकतामा राखेको बताउनुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष निराजन खनालको अध्यक्षता एवम् रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनको प्रमुख आतित्थ्यमा आज भएको कार्यक्रममा विद्यालयमा सञ्चालन भएका अतिरिक्त क्रियाकलाप एवम् खेलकुदसप्ताह अन्तर्गत उत्कृष्ट भएका छात्रछात्रालाई पदक तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।
विद्यालयमा कार्यरत शिक्षक÷कर्मचारी मध्ये ४ जनालाई नगद सहित सम्मान गरिएको शर्माले जानकारी दिनुभयो । यस्तै एसइइ परीक्षा २०७४ मा ३ दशमलम ९ जिपिए प्राप्ताङ्कका साथ विद्यालय प्रथम एवम् पूर्वी चितवन संस्थागत विद्यालयतर्फ सर्वोत्कृष्ट छात्रा सृजना आचार्य र सोही परीक्षामा ३ दशमलव आठ जिपिए प्राप्ताङ्कका साथ विद्यालय द्वितीय एवम् समग्र नेपाल कै श्रीकृष्ण प्रणामी सर्वोत्कृष्ट छात्रा भएकोमा ऋतिका शर्मालाई विशेष सम्मान गरिएको थियो ।
यसैगरी पूर्वविद्यार्थीहरु मध्येबाट डा. जीवन चौधरी र संस्थापकहरु मध्येबाट पूर्व प्राचार्य दयाराम सिंखडालाई विशिष्ट सम्मान गरिएको थियो । कार्यक्रममा प्रि–नर्सरी कक्षादेखि स्नातक तहसम्मका विद्यार्थीहरुले प्रतिनिधिमूलक साँगितिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो क्रममा रत्ननगर नगरपालिका वडा नं १० का अध्यक्ष केशव आचार्य, वडा नं २ का वडा अध्यक्ष तिलकराज शर्मा, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, प्याप्सन चितवनका उपाध्यक्ष धनप्रसाद रेग्मी, इष्टु नेपालका केन्द्रीय उपाध्यक्ष केशवराज पाठक, प्याप्सन रत्ननगरका अध्यक्ष मदन पुरी, सोसेव्सका अध्यक्ष पुष्पराज श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष रमाकान्त पौडेल, पूर्व प्राचार्य दयाराम सिंखडा लगायतले मन्तव्य राख्नु भएको थियो ।
