सचिन भट्टराई ,चितवन, २ चैत ।
सेन्टर फर एग्रीकल्चरल रिसर्च एण्ड एजुकेशन(केयर) नारायणगढले यस ईन्ष्टिच्युटबाट तयारी कक्षा गरेर बिभिन्न विश्वविद्यालयमा लिइएको प्रवेश परीक्षामा सफलता हासिल गरेका बिद्यार्थीहरुलाई सम्मान गरेको छ ।
आज भरतपुरमा एक औपचारिक कार्यक्रम गरी संस्थाले करिव दुई सयजना बिद्यार्थीलाई सम्मान गरेको हो ।
त्रिभुवन, कृषी तथा वन, पूर्वाञ्चल लगायतका बिश्वविद्यालयमा बिएससी एजी, भेटेरीनरी , फिसरी, फुड टेक्नोलोजी जस्ता बिषयमा भर्नाहुन लिइएको प्रवेश परिक्षामा यस बर्ष सफल भएकाहरु सम्मानित भएका थिए । केयरमा तयारी कक्षा गरेका दुई सय २० जना मध्ये एक सय ८० जनाले सफलता हासिल गरेको संस्थाका अध्यक्ष वद्रीप्रसाद अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार कतिपय बिद्यार्थीले सर्वोत्कृष्ट र उत्कृष्ट अंक समेत ल्याएका छन् ।‘ हामी यस किसीमका प्राविधिक विषयको प्रवेश परिक्षामा नेपालमै उत्कृष्ट नतिजा दिन सक्यौं यसमा गर्व गर्दछौ’ अर्यालले भन्नुभयो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथी नेपाल पोलीटेक्निक ईन्ष्टिच्युटका प्रिन्सिपल ईन्जिनियर वावुराम उपाध्यायले प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेकोमा जोड दिनुभयो । ईन्जिनियर उपाध्यायले प्राविधिक शिक्षा लिएका जनशक्ति स्वरोजगार हुने, उद्यमशीलता हुने, खाली हात बस्न नपर्ने बताउनुभयो । देश बिकास र निर्माणको चरणमा रहेकाले यहाँको समृद्धिमा पनि प्राविधिक जनशक्ति उपयोगी हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सचिव तीर्थ नेपालले प्राविधिक जनशक्ति पलायनहुने क्रम रोकीनुपर्ने र देश निर्माणमा सहभागी बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जनता बैंक नारायणगढका प्रवन्धक लक्ष्मण पौडेलले कृषी र उत्पादनमा बित्तिय संस्थाहरुले बिना संदेह लगानी गर्ने भएकाले प्राविधिक जनशक्तिले देशमै केही गर्न सक्ने अवस्था रहेको प्रकाश पार्नुभयो ।
कार्यक्रममा ईन्ष्टिच्युटका सञ्चालक तथा शिक्षकहरु भुवन पौडेल, डा. गृहमणी नेपाल, माधव भण्डारी, सुसन पौडेल लगायतले बोल्नुभएको थियो ।