नारायणीको बहाव बढेपछि कटान र डुबानको जोखिम

चितवन, १० असोज ।
नारायणी नदीको जलसतह बढेसँगै पश्चिम चितवनका नदी तटीय क्षेत्रमा कटान र डुबानको जोखिम बढेको छ । भरतपुर महानगरपालिका–१६ मझुवामा नदीले करिब एक सय मिटर क्षेत्र कटान गरेपछि बस्ती जोगाउन रोकथामको काम भइरहेको छ ।
लगातारको वर्षाका कारण नदीको बहाव बढेपछि मझुवामा गत भदौमा कटान भएको क्षेत्र आसपासबाटै पुनः कटान सुरु भएको हो । नदी बस्ती नजिक पुग्न थालेपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, चितवनले नदी नियन्त्रणका लागि तत्कालीन रूपमा रोकथामको काम अघि बढाएको छ ।
आयोजना कार्यालयका प्रमुख डा. नारायणप्रसाद सुवेदीका अनुसार भारी वर्षाको पूर्वसूचना पाएलगत्तै कार्यालयले आवश्यक तयारी गरेको थियो । बिहीबारदेखि नै नदी नियन्त्रणका लागि काम थालिए पनि पानीको बहाव बढेपछि कटान रोक्न चुनौती देखिएको उहाँले बताउनुभयो ।
मझुवामा करिब एक सय मिटर लम्बाइमा कटान भएको छ । मानव बस्ती जोखिममा रहेकाले रोकथामको काम निरन्तर भइरहेको र तत्काल जोखिम केही कम गरिए पनि क्षेत्र पूर्ण रूपमा सुरक्षित भइसकेको अवस्था नरहेको सुवेदीले बताउनुभयो । उहाँका अनुसार नारायणी नदी किनारका अन्य आधा दर्जन स्थानमा समेत कटान भइरहेको छ ।
गत भदौ १० गते आएको बाढीका क्रममा मझुवा क्षेत्रमा नदीले करिब तीन सय मिटर भूभाग कटान गरेको थियो । त्यसबेला नदी करिब २५ देखि ३० मिटर बस्तीतर्फ पसेर कटान गरेपछि ठुला ढुङ्गा राखेर नदीको धार नियन्त्रण गर्ने काम गरिएको थियो । सोही क्षेत्र आसपासमा अहिले पुनः कटान सुरु भएको हो ।
यसैबीच, देवघाटस्थित जलमापन केन्द्रमा नारायणी नदीको जलसतह खतरा तह नजिक पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले शनिबार दिउँसो २ः१० बजे जलसतह खतरा तह आसपास पुगेको र अझै बढ्दो क्रममा रहेको जनाएको छ । तल्लो तटीय क्षेत्र तथा विगतमा डुबान हुने स्थानका बासिन्दालाई आइतबार बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


देवघाट जलमापन केन्द्रमा नदीको पानीको सतह नौ मिटर पुगेपछि खतरा तह मानिन्छ । ७ दशमलव ३ मिटरलाई चेतावनी तह मानिएको छ । शनिबार दिउँसो पौने ३ बजेतिर नारायणीको जलसतह ८ दशमलव ९८ मिटर पुगेको थियो ।
शुक्रबार रातिदेखि नै नदीले चेतावनी तह पार गरेको थियो । जलसतह बढेपछि देवघाट आसपासको तटीय बस्तीमा डुबानको समस्या देखिएको छ । चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार देवघाट नदी किनारका तीन दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । प्रभावित स्थानीयलाई सुरक्षित स्थानमा सारिएको उहाँले जानकारी दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागले नारायणीमा जलसतह अझै बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । विशेषगरी तल्लो तटीय क्षेत्र तथा विगतमा डुबान हुने स्थानमा जोखिम बढी रहेको विभागले जनाएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका अनुसार पश्चिम चितवनमा नारायणी नदी नियन्त्रणका लागि अझै करिब साढे १० किलोमिटर क्षेत्रमा काम गर्न बाँकी छ । मझुवा र आसपासका क्षेत्रमा नदी नियन्त्रणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । करिब आठ करोड २४ लाख ६७ हजार रुपियाँमा ठेक्का सम्झौता भएको र २०८४ जेठ २५ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नदीमा पानीको बहाव उच्च रहेकाले स्थायी संरचना निर्माणभन्दा तत्काल कटान रोक्ने आपत्कालीन कामलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट