चितवन । क्षेत्रीय होटल संघ नेपाल, चितवन र एसियन–अफ्रिकन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री तथा वल्र्ड ट्रेड सेन्टर मुम्बई (डब्लुटिसी मुम्बई) बीच व्यापारिक तथा आर्थिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीले नेपाल र भारतबीच व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सम्पर्क विस्तारका लागि सहकार्य गर्ने आधार तयार गरेको छ । विशेषगरी चितवन तथा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न तथा भारतीय र अन्य विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न समझदारी महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
समझदारीअनुसार आगामी दिनमा भारतका विभिन्न सहर तथा अन्तर्राष्ट्रिय व्यापारिक सञ्जालमार्फत चितवन, सौराहा र नेपालको पर्यटन गन्तव्यको प्रचार–प्रसार गर्ने योजना छ । त्यसका लागि पर्यटनसम्बन्धी व्यापारिक भेटघाट, व्यवसायीबीच व्यवसाय–व्यवसाय (बीटुबी) कार्यक्रम, पर्यटन प्याकेज प्रवद्र्धन तथा लगानीका सम्भावनाबारे सहकार्य अघि बढाइने जनाइएको छ ।

क्षेत्रीय होटल संघ नेपाल सौराहा च्याप्टरका महासचिव महेश खनालले भारतीय बजारमा नेपालको पर्यटन प्रवद्र्धनसँगै पर्यटन व्यवसायीबीच प्रत्यक्ष सम्पर्क र व्यापारिक सञ्जाल विस्तार गर्न समझदारीले सहयोग पुग्ने बताउनुभयो । यसबाट भारतीय पर्यटकको आगमन बढाउन तथा चितवनको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ उहाले भन्नुभयो ।
चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहा वन्यजन्तु पर्यटनका लागि परिचित छ । चितवन राष्ट्रिय निकुञ्ज, वन्यजन्तु, थारू संस्कृति तथा प्राकृतिक सम्पदालाई केन्द्रमा राखेर भारतीय तथा अन्य विदेशी बजारमा पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना छ । नेपाल र भारतबीचको व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन व्यवसायसँग जोड्दै निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने उद्देश्यले गरिएको यो समझदारीले चितवनको पर्यटनमा नयाँ व्यापारिक अवसर सिर्जना गर्ने विश्वास गरिएको छ ।

कार्यक्रममा सम्वोधन गर्दै अर्थशास्त्रका विज्ञ डाक्टर अर्जुन भट्टले नेपाल सुरक्षित छ भन्ने सन्देश दिनु पर्ने बताउनुभयो । उहाले आउदो वर्ष सन् २०२७ मा नेपाल ग्लोवल शान्ति पूर्व लगानी सम्मेलन गर्ने तयारी भएको बताउनुभयो । उहाले भन्नुभयो “नेपालमा अरवी देशहरुका लगानीकर्तालाई आकर्शित गर्ने गरी कार्यक्रम तयारी छ । यसले गर्दा लगानी पनि हुनेछ , पर्यटक भित्रनेछ । ”


